गठबन्धन : माओवादी सरकारबाट बाहिरिन तयार, एकीकृत समाजवादीले स्थायी कमिटीबाट निर्णय लिने




काठमाडौं :

प्रतिनिधिसभा बैठक बस्नुअघि सत्ता गठबन्धनको बैठक बस्दैछ । त्यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच बिहान खुमलटारमा छलफल भएको छ ।

प्रचण्ड निवास खुमलटारमा भएको छलफलमा झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ पनि सहभागी भएका थिए ।

नेताहरूले गठबन्धनको बैठकमा प्रस्तुत हुने धारणाबारे छलफल गरे ।

माओवादीले अहिलेको अवस्थामा एमसिसी अगाडि बढाइए सरकार छाड्ने तर समर्थन कायमै राख्ने निस्कर्ष निकालेको छ भने एकीकृत समाजवादीले शनिबार मात्र निर्णय गर्ने भएको छ । शनिबार एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दैछ ।

जसपाले ठोस निर्णय लिन सकेको छैन । अध्यक्ष यादव माओवादी लगायत दलहरूको निर्णय कुरिरहेका छन् भने संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पास गर्नुपर्ने पक्षमा छन् ।

एमसिसीले दिएको समयसीमा सकिन १० दिन मात्र बाँकी रहँदा प्रधानमन्त्री शेरबहादुर देउवा तीव्र दबाबमा छन् । गठबन्धनले सहयोग नगरे प्रमुख प्रतिपक्षी एमालेको साथ लिएर अगाडि बढ्ने विकल्पमा पनि उनले गृहकार्य गरिहेका छन् ।

प्रधानमन्त्री देउवाले बिहीबार मात्र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए । यसअघि नै एमसिसीको विरोध गरेको सत्ता गठबन्धनको राष्ट्रिय जनमोर्चा भने सडक आन्दोलनमा छ ।

आज संसदमा टेबुल हाेला एमसिसी ? त्यसअघि कार्यव्यवस्था परामर्श समितिकाे बैठक

अमेरिकी अनुदान सहयाेग एमसिसी संसदबाट पारित गर्न अमेरिकाले पछिल्लाे पटक दिएकाे समयसीमा सकिन १० दिन मात्र बाँकी छ । १६ फागुनभित्र एमसिसी पारित नभए थप कदम चाल्ने एमसिसी मुख्यालयले बताइसकेकाे छ ।

तर, सत्ता गठबन्धनका पाँच दल नै पाँचतिर भएपछि एमसिसी संसदमा टेबुलसमेत हुन सकेकाे छैन । सत्तासिन नेपाली कांग्रेस जसरी पनि एमसिसी टेबुल गर्नुपर्ने पक्षमा भए पनि खासगरी माओवादी केन्द्र र एकीकृत समाजवादी अहिलेकाे अवस्थामामा अगाडि बढाउन नहुने अडानमा छन् ।

प्रमुख प्रतिपक्षी एमाले पर्ख र हेरकाे अवस्थामा छ ।

यही तिगडमका कारण बुधबार बसेकाे प्रतिनिधिसभा बैठकमा एमसिसी टेबुल हुन सकेन, बरु सत्तासिन दल माओवादी केन्द्र र एकीकृत समाजवादीका भ्रातृ संस्था नै सडकमा उत्रिए ।

सहमति जुटाउने भन्दै बिहीबार बसेकाे सत्ता गठबन्धनकाे बैठक पनि निरर्थक नै बन्याे ।

यही अन्याैलका बीच आज प्रतिनिधिसभा बैठक बस्दैछ । बैठक दिउँसाे १ बजे बस्ने भए पनि एमसिसी टेबुल हुने सम्भावना न्यून रहेकाे एक मन्त्रीले बताए ।

संसद् सचिवालयले सार्वजनिक गरेकाे सम्भावित कार्यसूचीमा पनि एमसिसी उल्लेख छैन । बरु प्रधानमन्त्री शेरबहादुर देउवाले ‘आदिवासी जनजाति आयोगको प्रतिवेद आर्थिक वर्ष २०७७/७८’ पेस हुने कार्यसूची छ ।

प्रतिनिधिसा बैठक अघि सभामुख अग्नि सापकाेटाले बिहान ११ बजे कार्यव्यवस्था परामर्श समितिकाे बैठक बाेलाएका छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्