प्रचण्ड माधवलाइ छोडेर देउवा र ओली अघि बढेको दाबी




काठमाडौं ।

अमेरिकी सहयोग एमसीसी संसदमा पेश गरेर अनुमोदन गराउन प्रधानमन्त्री शेरवहादुर देउवालाई गठबन्धनका दलले सहयोग नगरेपछि उनी विपक्षी दलका नेता केपी शर्मा ओलीसंग निरन्तर संवादमा छन् ।

विहिवार साँझ देउवा पत्नी आरजु राणा सहित देउवालाई भेट्न बालकोट पुगेका थिए । उनले विहिवार साँझ भएको गठबन्धनको बैठकमा आफु ओलीलाई भेट्न जान लागेको सुनाएका थिए ।

तर उनले एमसीसीका र संसद सूचारु गर्नका लागि सहयोग माग्न जान लागेको सुनाएका थिए । तर विहिवार सांझ ओली देउवाबीच भएको बैठकमा केही मुख्य कुराहरुमा पनि सहमति भएको अनुमान गरिएको छ । सत्ता गठबन्धन दलहरुलाई एमसीसीका पक्षमा ल्याउन नसकेपछि उनी ओलीसंग सहयोग माग्न पुगेका हुन् । त्यसका लागि सभामुख अग्नी सापकोटालाई हटाएर भएपनि उनी एमसीसी पास गराउन चाहन्छन् ।

प्रचण्डले एमसीसी पास गछौं भनेर प्रतिवद्धता जनाइसकेर पनि अन्त्यमा धोका दिएपछि देउवा प्रचण्डसंग रिसाएका छन् । माओवादी केन्द्रले एमसीसी संसदमा टेवल नै हुन नदिने औपचारीक निर्णय गरेपछि देउवासंग प्रचण्डको सम्बन्ध चिसिएको हो ।

विहिवारको र शुक्रवारको गठबन्धन बैठकमा देउवाले प्रचण्डको कुरा नै सुनेनन् । उनले प्रचण्डलाई पुरै इग्नोर गरेको बैठकमा सहभागी नेताहरुले बतएका छन् ।

देउवा अब ओलीको सहयोग लिएर एमसीसी पास गर्ने तर आफुलाई ओलीले आगामी निर्वाचन सम्म नै प्रधानमन्त्रीका लागि सहयोग गर्नुपर्ने वातावरण बनोस् भन्ने चाहन्छन् । विहिवार सांझको बैठकमा उनीहरुबीच यस्तै विषयमा कुराकानी भएको हुनसक्ने अनुमान गरिएको छ ।

एमसीसी दुवै पार्टी मिलेर पास गर्ने र निर्वाचन सम्म आफुलाई प्रधानमन्त्री रहन दिनुपर्ने सर्तमा दुई नेताहरुबीच सहमति जुट्यो भने अब केही दिनमै राजनीति नयाँ मोडमा पुग्न सक्ने देखिएको छ ।

यता सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच एमसीसीका विषयमा सकारात्मक छलफल भएको बताएका छन् । संसद् अवरोध हटाएर एमसीसीका विषयमा छलफल गराउनका लागि देउवा बिहीबार ओली निवास बालकोट गएको उनको भनाइ छ ।

“संसद्लाई सुचारु गर्ने प्रधानमन्त्रीको दायित्व हो । प्रतिपक्षीको पनि संसद्लाई त्यतिकै जीवन्त बनाउने दायित्व, भूमिका रहन्छ । संसद्लाई सुचारु गरेर संसद्मा गम्भीर र जीवन्त छलफल होस्, यसैका निम्ति भेट्न जानुभएको हो,” उनले भने ।

छलफलमा एमसीसीलाई निष्कर्षमा पुर्‍याउनेबारेमा सकारात्मक विचारविमर्श भएको उनले जानकारी दिए । “यो परियोजनालाई निष्कर्षमा पुर्‍याउन प्रधानमन्त्रीको प्रस्ताव छ । त्यसमा सकारात्मक विचारविमर्श भएको छ,” मन्त्री कार्कीले भने । शुक्रबारको सत्ता गठबन्धनका नेताहरूको बैठकपछि निर्णयबारे जानकारी गराउने क्रममा उनले ओली र देउवाबीचको भेटबारे पनि जानकारी गराएका हुन् ।

 

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्