काठमाडौं र चितवनलाइ सरकारले गर्यो बर्डफ्लु प्रभावित क्षेत्र घोषणा




काठमाडौं :

सरकारले काठमाडौं र चितवनलाई बर्डफ्लु प्रभावित क्षेत्र घोषणा गरेको छ ।

सरकारले काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३ र चितवन राप्ती–६ लाई बर्डफ्लु प्रभावित क्षेत्र घोषणा गरेर नियन्त्रण गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय शुक्रबार सार्वजनिक गर्दै उनले गोकर्णेश्वर र राप्तीलाई बर्डफ्लु प्रभावित क्षेत्र घोषणा गर्दै रोग नियन्त्रण गर्ने निर्णय गरेको जानकारी दिए ।

‘काठमाडौंको गोकर्णेश्वर–३ स्थित गोविन्द मगरले पंक्षी पालेको स्थान र चितवनको राप्ती–६ स्थित अनिता पशुपंक्षी कृषि फार्मलाई केन्द्र मानेर उल्लेखित स्थानको वरीपरीको १०० मिटरसम्मको क्षेत्रमा पंक्षी नष्ट गर्ने कार्य समाप्त भएको मितिबाट ४२ दिनको अवधिसम्मका लागि बर्डफ्लु प्रभावित क्षेत्र घोषणा गरी रोग नियन्त्रण गर्ने निर्णय गरिएको छ ,’ मन्त्री कार्कीले भने ।

बर्डफ्लु भित्रिएसँगै उपभोक्तालाई लागेको छ, अब कुखुराको मासु खान हुँदैन। उपभोक्ता मात्र होइन कुखुरापालक किसान पनि कुखुरा बिक्दैन, व्यवसाय डुब्छ भन्ने चिन्तामा छन्। सामान्यतया चल्ला ४५ दिनको भएपछि कुखुरा मासुका लागि तयार हुन्छ। तर बर्डफ्लु भित्रिएसँगै कतिपय किसान समयअगावै कुखुरा बिक्री गर्ने मेसोमा छन्।

तर बर्डफ्लु नलागेका स्वस्थ कुखुराको मासु खान डराउन नपर्ने चिकित्सकहरूको सुझाव छ। ‘बर्डफ्लु भित्रियो भन्दैमा कुखुराको मासु नै खान नहुने भन्ने होइन। सुरक्षित तरिकाले पकाएर खान हुन्छ,’ टेकु अस्पतालका प्रमुख कन्सल्ट्यान्ट डा.अनुप बाँस्तोलाले भने।

उनकाअनुसार सबै कुखुरालाई फ्लु नलाग्ने हुँदा मासु सफा गरेर राम्ररी पकाएर खान हुन्छ।

त्यसो भए राम्ररी पकाउने भनेको कस्तो हो?

‘बर्डफ्लु भाइरस ७० डिग्री सेल्सियस तापक्रममा मर्छ। हामीले १०० डिग्री सेल्सियसमा पकाउँदा यदि भाइरस छ भने पनि खतरा हुँदैन,’ जवाफ दिँदै डा. बाँस्तोलाले भने, ‘पोलेको मासु खानुपरे समय लगाएर भित्रैसम्म पकाउनुपर्छ। बाहिर पाकेजस्तो देखिए पनि पोल्दा काँचो रहने सम्भावना हुन्छ। नपाकेको जस्तो लागे खानु हुँदैन।’

उनले अगाडि थपे, ‘अण्डा खाँदा पनि काँचो नखानुहोला। उसिनेर वा पूर्ण रूपमा पकाएर खानुपर्छ।’

फार्ममा काम गर्ने व्यक्ति, ढुवानीकर्ता र मासु काट्ने मान्छे भने सबभन्दा जोखिममा रहेको उनी बताउँछन्। उनीहरूले सुरक्षित रूपमा मास्क, पञ्जा र एप्रोन लगाएर काम गर्नुपर्ने साथै बजारबाट मासु किनेर पकाउने व्यक्तिले अनिवार्य साबुन पानीले हात धुनुपर्छ।

‘बर्डफ्लु मानिसमा संक्रमण हुने सम्भावना कम हुन्छ। तर संक्रमण गरिहाल्यो भने मान्छेको मृत्यु नै हुने सम्भावना हुन्छ,’ डा. बाँस्तोलाले भने, ‘चिसोमा बर्डफ्लु भाइरस छिटो सर्ने भएकाले उच्च शतर्कता अपनाउनु पर्छ।’

यो भाइरस विशेषगरी कुखुराको र्‍याल र सुलीबाट सर्ने विज्ञहरू बताउँछन्। कसैको फार्ममा कुखुरा बिरामी परे भने तुरून्तै स्थानीय तहमा जानकारी गराउन पशु सेवा विभागले अनुराेध गरेकाे छ।

बर्डफ्लु इन्फ्लुएन्जा ए नाम गरेको एक प्रकारको विषाणुको माध्यमबाट पंक्षीमा लाग्ने रोग हो। यसबाट विशेष गरी कुखुरा, बट्टाइ, टर्की जस्ता पंक्षी बढी प्रभावित हुन्छन्।

हाँस, जंगली चराहरू रोगको लक्षण नदेखाइ पनि रोगवाहकका रूपमा देखा पर्न सक्छन्। चराहरूमा यो रोग सर्वप्रथम सन् १८७८ मा पहिचान भएको थियो।

सामान्यतया धेरै कुखुरा एकैपटक मरेमा, श्वासप्रश्वास सम्बन्धी कुनै समस्या देखिएमा, कुखुराको टाउको र घाँटीका भाग केही निलो देखिएमा र अण्डा उत्पादन एकैपटक घटेमा बर्डफ्लु शंका गर्न सकिन्छ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्