अल्छी लागेर एक सुरक्षागार्डले १० लाख डलरको पेन्टिङमा कोरिदिएपछि…




मस्को ।

कामको पहिलो दिनमै अल्छि लागेर रुसको एउटा ग्यालरीका सुरक्षा गार्डले १० लाख डलरको पेन्टिङमा कोरिदिएपछि सबै आश्चर्यमा परेका छन् । ६० वर्षीय ती गार्डले पेनको प्रयोग गर्दै पेन्टिङमा आँखा बनाइदिएका हुन् । अहिले उनलाई जागिरबाट बर्खास्त गरिएको छ भने अनुसन्धानमा दोषी पाइए जेल सजायँ पनि हुन सक्नेछ ।

ट्रेट्याकोभ ग्यालरीको उक्त कलेक्सन यतिबेला पुनः निर्माणको प्रक्रियामा छ । विज्ञहरुले त्यसलाई कसरी पहिलेको अवस्थामा ल्याउने भनेर काम गरिरहेका छन् । सोभियत युगको त्यस मूल्यवान् पेन्टिङलाई चर्चित चित्रकार एना लेपोर्सकायाका बनाएकी थिइन् । यसबारे ग्यालरीमा पेन्टिङ हेर्न आएका दुई आगन्तुकहरुले थाहा पाएपछि पुलिसलाई खबर गरिएको थियो ।

सो चित्रमा तीन मानिस जस्तो देखिने मुख, आँखा, नाक नभएका छवि थिए । तर ती गार्डले तीनवटै अनुहारमा आँखा केरिदिएका हुन् । पुलिसले उनीमाथि अपराधिक मुद्दा सुरु गरिसकेको छ । उक्त प्रदर्शनीकी क्युरेटर एना रेसेत्कीनाका अनुसार उनले येल्टिन सेन्टरकै ब्रान्डको पेनले ती पेन्टिङमा आँखा बताएका हुन् जुन पेन्टको एउटा सतह भित्रसम्म पुगेको छ ।

यसमा उनको वास्तविक उद्देश्य के थियो भन्ने पत्ता लागेको छैन तर प्रशासनको बुझाइमा उनले ख्यालख्यालमा ‘बोर’ भएर केही नसोची त्यस्तो गरेको हुन सक्छन् । भाग्यवश् उनले पेन्टिङमा बेस्सरी पेनले थिचेका रहेनछन् । त्यसैले पेन्टिङमा गहिराइसम्म क्षति पुगेन । तरपनि देब्रेतर्फको अनुहारमा कोरिएको भाग केही खुम्चिएको जस्तो देखिएको छ ।

पेन्टिङमा पुगेको सो क्षतिबारे पुलिसलाई डिसेम्बरमा खबर गरिएको थियो । तर आन्तरिक मामिलाको मन्त्रालयले सुरुवातमा सो क्षति उल्लेखनीय नभएको भन्दै अनुसन्धान नगर्ने बताएको थियो । तर पछि संस्कृति मन्त्रालयले सो निर्णयको कडा निन्दा गरेपछि भने मुद्दा अघि बढइएको हो ।

यदि ती सेक्युरिटी गार्ड दोषी पाइए भने उनले भारी जरिवाना र तीन महिनासम्मको जेल सजायँ पाउन सक्छन् । सो पेन्टिङ हाल मर्मत गरिएको छ जसको पुनःनिर्माणको खर्च ३ हजार डलर भन्दा बढी लागेको छ ।

अहिले त्यसको माथि सुरक्षित स्क्रिन पनि इन्स्टल गरिएको छ । यो पेन्टिङ गर्ने कलाकार लेप्रोस्क्या प्रसिद्ध कलाकार कजिमिर मलेभिककी विद्यार्थी थिइन् । यसपछि लेपोर्सकाया भवनहरुको डिजाइन लगायत विभिन्न पेन्टिङका लागि रुसभर चर्चित बनेकी हुन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्