साबधान रहनुहोस् ! काठमाडौंको यो ठाउँलाई बर्डफ्लू प्रभावित क्षेत्र घोषणा गरियो




काठमाडौं ।

विशेषगरी कुखुरामा देखापर्ने बर्डफ्लू फैलनेक्रम बढेसँगै काठमाडौं उपत्यकाको एक स्थानलाई पनि सरकारले बर्डफ्लू प्रभावित क्षेत्र घोषणा गरेको छ । सरकारले काठमाडौं जिल्लाको गोकर्णेश्वर नगरपालिका–३ स्थित गोविन्द मगरले पंक्षी पालेको स्थानलाई बर्डफ्लू प्रभावित क्षेत्र घोषणा गरेको हो । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले काठमाडौं उक्त क्षेत्रसँगै चितवन जिल्लाको राप्ती नगरपालिका–६ स्थित अनिता पशुपंक्षी कृषि फार्मलाई केन्द्र मानी ती स्थानको सय मिटरसम्मको क्षेत्रमा पंक्षी नष्ट गर्ने कार्य समाप्त भएको मितिबाट ४२ दिनसम्मको अवधिसम्मका लागि बर्डफ्लू प्रभावित क्षेत्र घोषणा गरी रोग नियन्त्रण गर्ने निर्णय गरेको हो ।

यसअघि, सरकारले बर्डफ्लू नियन्त्रण गर्न मोरङ जिल्लाको विराटनगर महानगरपालिका–१८ मा हिमालयन कृषि फार्मलाई केन्द्र बिन्दु मानी बर्डफ्लू रोग प्रभावित क्षेत्र घोषणा गर्ने निर्णय गरेको थियो । सरकारले कोभिड नियन्त्रणका लागि प्रदान गरेको १८ मिलियन अमेरिकी डलर अर्थात् करिब नेपाली २ अर्ब १४ करोड थप ऋण सहायता स्वीकार गरेको छ । कोभिड–१९ को आकस्मिक प्रतिकार्य तथा जनस्वास्थ्य जोखिमको पूर्वतयारी परियोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने उक्त ऋण शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वीकार गरेको हो ।

सञ्चार, सूचना तथा प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रिय बिमा संस्थान सञ्चालक समितिको अध्यक्ष गंगाराम कँडेलको राजीनामा स्वीकृत गर्ने निर्णय भएको जानकारी दिएका छन् । प्रवक्ता कार्कीले श्रमिक अस्पताल स्थापनाका लागि आवश्यक प्रक्रियाअघि बढाउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति प्रदान गरेको पनि बताएका छन् ।

सरकारले नवीकरणीय ऊर्जा अनुदान नीति २०७८ स्वीकृत गर्ने, मुलकी फौजदारी कार्यविधि संहिता २०७४ को अनुसूची १ हेरफेर गर्ने निर्णय पनि गरेको छ । सरकारले ग्लोबल फन्डको एड्स, क्षयरोग र मलेरिया रोग रोकथाम तथा नियन्त्रणका लागि सन् २०२१ देखि २०२४ को कार्यक्रम कार्यान्वयनका लागि जनसंख्या मन्त्रालयका सचिवलाई सम्झौतामा हस्ताक्षर गर्न अख्तियारी प्रदान गर्ने निर्णय पनि गरेको छ । यस्तै, औषधी दर्ता चौथो संशोधन नियमावली २०७८ लाई स्वीकृत गर्ने र नेपाल मेडिकल काउन्सिल पाँचौं संशोधन नियमावली–२०७८ लाई स्वीकृत प्रदान गर्ने निर्णय पनि गरिएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्