काठमाडौमा २१ वर्षका युवकले चोरे ३ वटा मोटरसाइकल




काठमाडौ । काठमाडौमा एक जना २१ वर्षका युवकले ३ वटा मोटरसाइकल चोरी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका–३२ नरेफाँट सत्य साइँबाबा मन्दिर नजिकबाट काठमाडौँ बानेश्वरका २१ वर्षीय पुल्कित ठकुरीलाई पक्राउ गरेको हो ।

शुक्रबार राति पक्राउ परेका ठकुरीका बारेमा अनुसन्धान गर्दै जाँदा उनले ३ वटा मोटरसाइकल चोरी गरेको खुलेको हो । प्रहरीले उनलाई आइतवार सार्वजनिक गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जाँचका क्रममा बा ९२ प ३८ लेखिएको बुलेट मोटरसाइकलको अगाडि पछाडिको अङ्क टेपले छोपेर हिँडिरहेको अवस्थामा ठकुरीलाई पक्राउ गरिएको जानकारी दिए ।

“पक्राउ परेका ठकुरीसँग आवश्यक अनुसन्धानका क्रममा अन्य दुईवटा मोटरसाइकलसमेत चोरी गरेको भेटिएको छ”, उनले भने । ठकुरीले उक्त मोटरसाइकल ललितपुरको मङ्गलबजारबाट चोरी गरेको स्वीकारेको प्रवक्ता मैनालीले बताए ।

पक्राउ परेका ठकुरीसँग प्रहरीले पल्सर र एभेन्जर मोटरसाइकलसमेत बरामद गरेको छ । प्रहरीले ठकुरीलाई मुलुकी अपराधसंहिता २०७४ को परिच्छेद–२० अन्तर्गत दफा २४१ को ‘चोरी गर्न नहुने कसूर’ मुद्दामा म्याद थप गरी अनुसन्धान गरिरहेको प्रवक्ता मैनालीले बताए ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्