प्रचण्डले फेरी भने ‘हामी एमसीसीको विपक्षमै हो, आन्दोलनकारी माथिको दमनको विरोध गर्छौ’




काठमाडौ । वालुवाटार बैठकमा एमसीसी संसदमा टेबल गर्ने सहमति गरेका सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरू एमसीसीको विपक्षमा रहेको फेरि स्पष्ट पारेका छन् । माओवादीका कार्यकर्ताहरु सडक आन्दोलनमा रहेको बेला आलोचना खेपेका प्रचण्डले यस्तो स्पष्टिकरण दिएका हुन् ।

माओवादी अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल लगायत सत्ता गठबन्धनका नेताहरूकै सहमतिमा सरकारले आज एमसीसी संसदमा टेबल गरेको छ । तर प्रचण्डले भने सरकारले विवाद र विरोधकै बीच एमसीसी टेबल गरेकोमा विरोध जनाउँदै माओवादी एमसीसीको विपक्षमा उभिने बताएका छन् ।

यस्तै उनले एमसीसी टेबल गर्न हुन्न भन्दै प्रदर्शन गर्नेहरूमाथी प्रहरीले गरेको दमको विरोध गर्दै घाइतेको स्वास्थ्य लाभको कामना गरेका छन् ।

परराष्ट्र मन्त्रालयले नेपालको सार्वभौम संसद्ले नै नेपालले लिने कुन विकास सहायता ठिक छ भनेर निर्णय गर्ने जनाएको छ । अमेरिकी सहायता परियोजना एमसीसी संसदमा टेबल भएपछि परराष्ट्र मन्त्रालयले आज आइतवार विज्ञप्ति निकालेर नेपालले अहिलेसम्म देश र नागरिकको आवश्यकता र देशको हितलाई आधार मानेर विदेशी सहायता लिइरहेको उल्लेख गरेको छ ।

एमसीसीतर्फ इङ्गित गर्दै मन्त्रालयले नेपालको राष्ट्रिय हित र प्राथमिकताका सर्तहरू हेरेर मात्रै सरकारले विकास सहायता स्वीकार गर्ने निर्णय गरेको र अब यसको छिनोफानो सार्वभौमसत्ता सम्पन्न संसदले नै गर्ने उल्लेख गरेको छ ।

नेपालले सधैँ स्वतन्त्र, सन्तुलित र असंलग्न परराष्ट्रको खोजी गर्दै आएको र यो नीति अनुसार आफ्नो राष्ट्रिय आवश्यकता र प्राथमिकताअनुसार विकास सहायताको उपयोग गरेको परराष्ट्रले जनाएको छ । मित्र देशका विकास सहायताले देशको पूर्वाधार निर्माणमा विकास सहायताले महत्त्वपूर्ण भूमिका खेलेको भन्दै सरकारले सहयोग गर्ने देशहरूलाई धन्यवाद दिएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्