पशुपति क्षेत्रमा रहेका पर्खालको शिव-पार्वतीको पेन्टिङ गरिदै, १० वर्ष टिक्ने दाबी (फोटो फिचर सहित)




काठमाडौं, ११ फागुन

काठमाडौंको गौशालास्थित पशुपति क्षेत्रको पर्खालमा शिव–पार्वतीसहित भगवानको पेन्टिङ गर्ने कार्य भइरहेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको निर्देशनमा पाशुपत क्षेत्रको पर्खालमा शिव–पार्वतीसहित भगवानको पेन्टिङ थालिएको हो ।

शिवरात्रिसम्ममा पेन्टिङ सक्नेगरी काम भइरहेको छ । यस वर्षको शिवरात्रि यही १७ फागुनमा परेको छ । ‘वेदर कोेट’को प्रयोग गरेर बनाइएको शिव–पार्वतीसहित भगवानको पेन्टिङ १० वर्ष टिक्ने चित्रकारहरूको दाबी छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले महाशिवरात्रि अगाडि नै पशुपति क्षेत्रमा भगवान् शिवका मूर्ति तथा देवीदेवताका चित्र चित्रण गर्न निर्देशन दिएका थिए ।

पशुपति क्षेत्रमा निरीक्षण अवलोकनका लागि त्यहाँ पुग्नुभएका मन्त्री आलेले शिवरात्रिको समयमा पशुपति क्षेत्रमा विभिन्न देवीदेवताका चित्रसहितका ‘वाल पेन्टिङ’ गर्न पशुपति विकास कोषका पदाधिकारीलाई निर्देशन दिनुभएको थियो ।

“महाशिवरात्रि पर्व आउँदै छ, पशुपति क्षेत्रमा रहेका सम्पूर्ण पर्खालमा भगवान् शिव र विभिन्न देवीदेवताका चित्रसहितका ‘वाल पेन्टिङ’ गराएर सजाउनु होला ।”

यसैगरी मन्त्री आलेले पशुपति क्षेत्रमा रहेका अव्यवस्थित टहरा, पसल व्यवस्थित ठाउँमा तत्काल सार्न र यहाँ फूल प्रसाद बिक्री गर्नेका लागि पायक पर्ने ठाउँमा पसल निर्माण गर्नसमेत निर्देशन दिएका थिए ।

 

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्