सर्वोच्चको तारिख गुजारेका कारण गयो मन्त्रीको सांसद पद




काठमाडौ । पार्टीले कारवाही गरेर सांसद पद मुक्त गर्न संसद सचिवायमा पत्र पठाएपछि सर्वोच्च अदालत पुगेकी एक मन्त्रीले अदालतको तारेख गुजारेका कारण सांसद पद गुमाएकी छन् । लुम्बिनी प्रदेशकी कृषि, खाद्य प्रविधि तथा भूमिव्यवस्था मन्त्री सुमन शर्मा रायमाझीले अदालतमा तारेख गुजारेका कारण सांसद पद गएको छ ।

उनलाई जनता समाजवादी पार्टी (जसपा) ले दल त्यागको कारवाही गर्दै पदमुक्त गर्न प्रदेश सभामुखलाई पत्र पठाएको थियो । सभामुखले सूचना टाँसेर उपदमुक्त गरेको जानकारी पनि गराए । त्यसविरुद्ध प्रदेश सांसद रायमाझीले सर्वोच्च अदालतमा मुद्दा हालेकी थिइन् । सर्वोच्चले उनलाई तत्काल पदवाट हटाउने कारवाही नगर्नु भन्ने अन्तरीम आदेश दिएको थियो । सर्वोच्चको यो आदेश पछि उनी पार्टीको काममा सकृय भइन् तर सर्वोच्चको तारिख भने गुजारीन् ।

सर्वोच्च अदालतमा विचाराधिन मुद्दाको तारिख गुजारेका कारण उनलाईर् पदबाट नहटाउनु भन्ने अन्तरिम आदेश निष्कृय भएको हो । अब उनी बढीमा ६ महिनासम्म मात्रै मन्त्री पदमा बहाल हुन पाउँछिन् । रायमाझीसहित सन्तोषकुमार पाण्डेय, विजय यादव र कल्पना पाण्डे समेत सर्वोच्च पुगेका थिए । उनीहरु सबैलाई सो पार्टीले कारवाही गरेको थियो ।

सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेशमार्फत पद त्यागको कारबाही रोके पछि पार्टी काममा सकृय भएकी रायमाझी त्यसपछि सर्वोच्चको तारिखमा उपस्थित भइनन् । सांसदहरुमाथि कारवाही गर्दा प्रक्रिया पूरा गरेको नदेखिएको भन्दै न्यायाधीश नहकुल सुवेदीको इजलासले उनीहरुलाई सांसद पदबाट निस्कासित गर्ने भनी प्रदेश सभामुखले १६ वैशाख २०७८ मा गरेको निर्णय यथास्थितिमा राख्न आदेश दिएको थियो ।

सर्वोच्च अदालतको अभिलेख अनुसार उनले १७ भदौ २०७८ को तारिख टुटाएकी थिइन् । त्यसपछि थाम्ने काम पनि नगरेको भन्दै मुद्दा नै तामेलीमा पठाउने आदेश दियो । मुद्दा तामेलीमा पठाउनु भनेको खारेज हुनु सरह हो ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्