सोमवार विमानस्थलमा भएको घटनाले उठ्यो गम्भिर प्रश्न ! सेनाको सुरक्षा घेरावाट कसरी एक ब्यक्ति पासपोर्ट र टिकट विनै दुवई उड्न लागेको विमानको ढोकामै पुगे ?




काठमाडौ । काठमाडौको अन्तराष्ट्रिय विमानस्थलमा कहिले काँही अनौठा घटना हुने गर्छन । गत सोमबार (९ फागुन) पनि त्यस्तै एक घटना भयो । सोमवार राति १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको एक अनौठो घटना सार्वजनिक भएको छ ।

एक जना ब्यक्ति जो दुबई जान चाहन्थे । तर उनीसंग न पासपोर्ट थियो न भिषा । उनी उड्न लागेको नेपाल एयरलायन्सको विमानको ढोकामा पुगेका थिए । उनीसंग बोर्डिङपास पनि थिएन । उनको ब्यवहार शंकास्पद देखिएपछि एयरलाइन्सका कर्मचारीले उनलाई सोधीखोजी गरे । उनी विमानभित्र पसिसकेका थिए । जब उनीसंग विमानस्थलका कर्मचारीले बोर्डिङपास मागे उनीसंग केही पनि थिएन । न उनले बोर्डिङपास देखाउन सके, न अन्य कागजपत्र ।

पासपोर्ट र टिकट विना उनी विमानको ढोकासम्म कसरी पुगे भन्ने कुरा अचम्म भयो । नेपाल एयरलाइन्सका कर्मचारीले सुरक्षाकर्मी र विमानस्थलका कर्मचारीहरुलाई बोलाएर उनका बारेमा सोधीखोजी भयो ।

केरकार गरेपछि थाहा भयो उनी रौतहटका असरफ आलम भएको खुल्यो । त्रिभुवन विमानस्थल कार्यालयका प्रमुख प्रेमनाथ ठाकुरले उनको परिचय खुलेको बताए । उनी सोमबार राति पौने १० बजे आयल नियमको हवाई इन्धनको डिपो नजिकबाट विमानस्थलको फलामे तारबार (फेन्सिङ कम्पाउन्ड) नाघेर त्यहाँ पुगेको खुलेको छ ।

विमानको ढोकावाट भित्रै प्रवेश गर्न लागेका उनी त्यहाँ सम्म कसरी पुगे भन्ने अनुसन्धान गर्न विमानस्थल सुरक्षामा खटिएको टोलीले सीसी टीभी फुटेज हेरेको थियो । सीसी टीभीमा उनी बार नाघेर विमानस्थलको पार्किङसम्म पुगेको देखिएको हो ।

तर, उनले बार नाघेको र विमानस्थलको पार्किङसम्म पुगेको सुरक्षाकर्मीले पनि पत्तो पाएनन् । उनी विमानस्थलको टर्मिनल भवन प्रयोग नगरी सोझै यात्रु ‘बोर्ड’ गरिरहेको विमानसम्म पुगेका थिए । उनले यस अघि पनि यस्तै हर्कत गरेको पनि खुलेको छ ।

मानसिक अवस्था ठिक नभएका उनले एक महिना अघि पनि विमानस्थलको गेट त्यसरी नै नाघेको अनुसन्धानवाट खुलेको हो । अघिल्लो पटक मानसिक अवस्था ठिक नभएको भनेर छाडिएको भए पनि अब भने प्रहरीले उनको गाउँमै पुगेर अनुसन्धान गर्ने भएको छ ।

आलम अहिले गौशाला प्रहरीको हिरासतमा छन् । उनी निकटका व्यक्तिहरुले भने आलमलाई विमान चढ्न निकै रहर भएकाले उनी त्यसका लागि पटक(पटक यस्ता हर्कत गरेको हुनसक्ने बताएका छन् । उनी विमानस्थलको बाहिरको सुरक्षा घेरावाट भित्र प्रवेश गरेको हुनसक्ने प्रहरीले जनाएको छ ।

त्यो सुरक्षा घेराको जिम्मा सेनाले लिएको छ । सेनाले सुरक्षा जिम्मा लिएको ठाउँवाट उनी सिधै विमानको ढोका सम्म पुगेको कुरालाई विमानस्थलले गम्भिर रुपमा लिएको छ । यसवारे विस्तृत अनुसन्धान हुने जनाइएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्