के तपाई बेरोजगार हुनुहुन्छ ? यस्तो ब्यहोराको निवेदन पालिका वा वडा कार्यालयमा दिनुहोस्




काठमाडौ । के तपाई बेरोजगार हुनुहुन्छ ? यदि वेरोजगार हुनुहुन्छ भने आफ्नो यथार्थ परिचय खुलाएर आफु बसोबास गरेको पालिका वा वडामा गएर निवेदन दिनुहोला । सरकारको एक सय दिनको रोजगार कार्यक्रम मार्फत तपाईलाई रोजगारी मिल्ने छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बेरोजगार व्यक्तिहरूलाई आफ्नो वडा कार्यालय वा पालिकामा रहेको रोजगार सेवा केन्द्रमा सूचीकृत हुन अनुरोध गरेको छ ।

तोकिएको मापदण्ड पूरा गरेका नागरिकले फागुन महिना भरि आफू स्थायी बसोबास गरिरहेको वडा वा पालिकामा रहेको रोजगार सेवा केन्द्रमा गएर बेरोजगारको सूचीमा सूचीकृत हुन सक्ने मन्त्रालयले जनाएको छ ।

बेरोजगारको सूचीमा सूचीकृत हुन १८ वर्षदेखि ५९ वर्षसम्म उमेर समूहको हुनु पर्ने छ, निवेदन दिँदाको मितिसम्म यो आर्थिक वर्षमा न्यूनतम एक सय दिनको रोजगारीमा संलग्न नभएको हुनुपर्छ भने स्वरोजगारमा संलग्न व्यक्तिको हकमा निवेदन दिँदाको मितिसम्म आर्थिक वर्षमा न्यूनतम एक सय दिनको रोजगारी बापत प्राप्त गर्ने नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक बराबरको आय ५७ हजार ७ सयभन्दा कम हुनुपर्छ ।

रितपूर्वक प्राप्त आवेदनलाई वडा कार्यालयले छानबिन गरी बेरोजगार ठहर हुने सबै मापदण्ड पूरा गरे नगरेको प्रमाणित गर्ने छ । प्रमाणित भएका निवेदनलाई स्थानीय निर्देशक समितिले थप छानबिन गर्नेछ । त्यसपछि बेरोजगार व्यक्तिको अन्तिम सूची गाउँ कार्यपालिका वा नगरपालिकाबाट स्वीकृतिको लागि सिफारिस गर्छ । बेरोजगारको सूचीमा सूचीकृत व्यक्तिले पालिकामा सञ्चालित प्रधानमन्त्री रोजगार कार्यक्रममा काम पाउनेछन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्