फेरि बालकोट पुगे देउवा




काठमाडौं :

एमसीसीका विषयमा अन्यौलता बढ्दै गएसँगै विभिन्न राजनीतिक दलका नेताहरूले छलफललाई तीव्रता दिन थालेका छन् । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न ओली निवास बालकोट पुगेका छन् ।

उनी पार्टी उपसभापति पूर्ण बहादुर खड्का, महामन्त्री गगन थापा र पार्टी नेता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई साथमा लिएर बालकोट पुगेका हुन् ।

दिनभर सत्ता गठबन्धनका नेताहरूसँग छलफल गरेका देउवा साझ ओलीलाई भेट्न बालकोट पुगेका हुन् । उनीहरूबीचको भेटमा एमसीसीका विषयमा छलफल हुने बताइएको छ । एमसीसीलाई जसरी पनि संसद्‍बाट अनुमोदन गर्ने पक्षमा रहेका देउवा सत्ता गठबन्धनको साथ नभए प्रमुख प्रतिपक्षीलाई भए पनि साथमा लिएर जाने मनस्थितिमा छन् ।

माधव नेपालले देउवालाई भेटेलगत्तै एकीकृत समाजवादीको बैठक सिंहदरबारमा

एकीकृत समाजवादीका शीर्ष नेताहरू अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी¬) बारे अनौपचारिक छलफलमा जुटेका छन् । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा छलफल चलिरहेको एकीकृत समाजवादीको संसदीय दलका प्रमुख सचेतक जीवनराम श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार अध्यक्ष माधवकुमार नेपालसहितका शीर्ष नेताहरू एमसीसीबारे अनौपचारिक छलफलमा जुटेका हुन् । एकीकृत समाजवादी संसदमा एमसीसीको विपक्षमा उभिने बताउँदै आएको छ ।

शुक्रबार बिहान धनगढीबाट काठमाडौं आएलगत्तै अध्यक्ष नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेटेर छलफल गरेका थिए । बालुवाटारबाट फर्केपछि नेपालले आफ्नै पार्टीका शीर्ष नेताहरूसँग छलफल थालेका हुन् । प्रधानमन्त्री देउवाले एमालेको समर्थनमा भएपनि एमसीसी संसदबाट अनुमोदन गर्ने प्रयास गरेका छन् ।

एकीकृत समाजवादी र माओवादी केन्द्र एमसीसीको विपक्षमा उभिँदा सत्तारुढ गठबन्धन टुट्ने खतरा बढेको छ । एमसीसीको विपक्षमा उभिने एकीकृत समाजवादीको निर्णयलाई पुनर्विचार गर्न कांग्रेसले आग्रह गरेको चर्चा भइरहेका बेला अध्यक्ष नेपालले देउवासँग छलफल सकेर आफ्नै पार्टीका शीर्ष नेतासँग छलफल गरिरहेका हुन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्