एमसीसीको पक्षमा उभिने एकीकृत समाजवादीको निर्णय




काठमाडौं :

नेकपा (एकीकृत समाजवादी) पनि अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी)को पक्षमा उभिने निर्णय गरेको छ । एकीकृत समाजवादीको आइतबार दिउँसो बसेको बैठकले एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

यसअघि आइतबार बिहान बसेको गठबन्धन बैठकको निर्णयअनुसार एकीकृत समाजवादीले एमसीसीमाथि व्याख्यात्मक टिप्पणीसहितको घोषणालाई सर्मथन गर्दै अनुमोदन गर्ने निर्णय गरेको सो पार्टीका उपमहासचिव गंगाधर तुलाधरले जानकारी दिए ।

उनका अनुसार घोेषणालाई सम्झौताको अंग मानिनुपर्ने सर्तमात्र एमसीसीको पक्षमा उभिने निर्णय गरिएको हो । एमसीसीको विपक्षमा उभिँदै कार्यकर्र्तालाई सडकमा उतारेको एकीकृत समाजवादी अन्ततः एमसीसीको पक्षमा उभिएको हो ।

एमसीसी अनुमोदनका लागि गर्ने भनिएको व्याख्यात्मक टिप्पणी के हो ?

सत्तारुढ गठबन्धनले व्याख्यात्मक टिप्पणीसहित अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) अनुमोदन गर्ने निर्णय गरेको छ । आइतबार बस्ने प्रतिनिधिसभा बैठकको दोस्रो सेसनले एमसीसी अनुमोदन गर्ने गठबन्धन बैठकमा सहभागी कांग्रेस नेता रामचन्द्र पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार व्याख्यात्मक टिप्पणी भन्नाले एमसीसीबारे देखिएको भ्रम र विवादलाई स्पष्ट पार्ने हो । एमसीसी अनुमोदन भएमा अमेरिकी सेना आउनेदेखि नेपालको कानुनभन्दा माथि रहेको भन्ने विषयलाई स्पष्ट पार्दै नेपालको अडान प्रस्तुत गर्ने गरी व्याख्यात्म टिप्पणी गरिने पौडेलले बताए ।

एसमीसी सम्झौता इन्डोप्यासिफिक रणनीतिअनुसार नरहेको, नेपालको संविधानअनुसार चल्ने र नेपालको आर्थिक विकास सहायता रहेको स्पष्ट पार्ने कार्यलाई नै व्याख्यात्मक टिप्प्णी भनिएको नेता पौडेलले जानकारी दिए ।

एमसीसी संसदबाट अनुमोदन गर्न नहुन बताउँदै आएका माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) अन्ततः पारित गर्न राजी भएका छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्