देउवाले आफ्नो पार्टीको बैठकमै गरे यस्तो प्रस्ताव, एमालेलाई चुनावमा अप्ठेरो हुने देखियो




काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टीको बैठकमै निर्वाचन सम्म नै गठबन्धनलाई लैजाने प्रस्ताव पेश गरेका छन् । उनको यस्तो प्रस्तावले नेकपा एमालेलाई भने अप्ठेरो पर्ने देखिएको छ । अमेरिकी सहयोग परियोजना एमसीसी पास गर्ने क्रममा भने सत्ता गठबन्धनका पार्टीको साथ नपाएपछि भत्काउने अन्तिम निष्कर्षमा पुगिसकेका थिए।

तर, एमसीसी संसदबाट पास गर्ने अन्तिम समयसम्म एमालेले विश्वासयोग्य र भरोषापूर्ण कुरा नगरेपछि देउवा सत्ता गठबन्धनबाट टाढा जान तयार भएनन्। अन्ततः सत्ता गठबन्धनभित्रबाटै ‘उपाय’ निकालियो, ‘व्याख्यात्मक घोषणा’ सहित एमसीसी पास गर्ने।

दलहरुलाई विभाजित बनाएको एमसीसी पास भएपछि बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धन र त्यसअन्तर्गत रहेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्यो। बैठकमा प्रधानमन्त्री देउवाले एमसीसी पास गर्न सहयोग र समर्थन गरेकामा गठबन्धनमा आवद्ध दल र दलका शीर्ष नेताहरुप्रति खुसी व्यक्त गर्दै धन्यवाद ज्ञापन गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

संसदबाट एमसीसी पास गर्न आफू सफल भएकोमा उत्साहित देउवाले बैठकमा आगामी निर्वाचनसम्मै सत्ता गठबन्धन अघि बढाउनुपर्ने प्रस्ताव गरेका थिए। उनले वर्तमान उपलब्धिलाई संस्थागत गर्दै अघि बढ्नको लागि सत्ता गठबन्धनलाई नै अगाडि बढाउनुपर्नेमा जोड दिएका थिए।

तर केही कांग्रेस नेताहरु नै आगामी निर्वाचनमा पार्टीले गठबन्धन गरेर जान नहुने र नजाने बताउँदै आएका छन्। कांग्रेस सभापतिमा पराजित नेता शेखर कोइराला समूहले सभापति एवं प्रधानमन्त्री देउवालाई निर्वाचनमा गठबन्धन नगर्न दबाब दिँदै आएको छ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्