बार एसोसिएशनले भन्यो, ‘हामी फेरी चोलेन्द्रशम्शेर जबरालाई न्यायपालिकामा स्वीकार गर्न सक्दैनौं’




काठमाडौ । नेपाल बार एसोसिएशनको १५ औँ अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलन २०७८ ले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई फेरि न्यायपालिकामा स्वीकार्न नसक्ने घोषणा गरेको छ । आज बिहीवार काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा एसोसिएशनले निलम्बित प्रधानन्यायाधीश जबरालाई फेरि न्यायपालिकामा स्वीकार्न नसक्ने घोषणा गरेको हो ।

पत्रकार सम्मेलनमा बोल्दै नेपाल बार एसोसिएशनका महासचिव लीलामणि पौडेलले अब जुनसुकै अवस्थामा पनि प्रधानन्यायाधीश जबरालाई न्यायपालिका र सार्वजनिक दायित्वको पदमा स्वीकार गर्न नसकिने बताए । उनले प्रतिनिधि सभामा दर्ता भएको प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोगको प्रस्तावमाथि चाँडो कारबाहीको प्रक्रिया थाल्न पनि सम्मेलनले माग गरेको बताए ।

महासचिव पौडेलले प्रधानन्यायाधीश जबराको बहिर्गमनले मात्रै न्यायपालिका सुधार हुन नसक्ने र भ्रष्टाचार निर्मूल गर्न शङ्कास्पद भूमिकामा देखिएका अन्य न्यायाधीशहरूबारे पनि छानबिन प्रक्रिया अघि बढाउन माग गरे ।

उनले संवैधानिक परिषदमा प्रधानन्यायाधीशको भूमिकाका कारण सर्वोच्च अदालतमा मुद्दाहरू पर्ने गरेको र त्यस्ता मुद्दाहरू प्रधानन्यायाधीशकै नेतृत्वमा गठन भएको संवैधानिक इजलासले हेर्ने गरेको उल्लेख गर्दै यसमा प्रधानन्यायाधीशको संलग्नता नरहने गरी संविधान संशोधन गर्न पनि माग गरेको बताए ।

सम्मेलनले संवैधानिक परिषद्द्वारा हुने नियुक्तिका लागि सम्भावित र योग्य व्यक्तिको सूची तयार पारेर सार्वजनिक सुनुवाइको आधारमा नियुक्त गर्ने प्रक्रिया निश्चित गर्न कानुन संशोधन गर्नुपर्ने मागसमेत राखेको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्