पल शाह प्रकरण बारे बोल्यो प्रहरी, अनुसन्धान गरिरहेको प्रहरीले ‘हामी प्रभावित हुँदैनौं’ भन्दै यस्तो भने ?




काठमाडौं:

उमेर नपुगेकी किशोरीमाथि ज’बर्ज’स्ती क’र’णीको अभियोगमा नायक पल शाह न्यायिक हिरासतमा छन्। जिल्ला प्रहरी कार्यालय तनहुँ र नवलपरासीमा छुट्टाछुट्टै मुद्दा दर्ता भएको छ। तनहुँमा प्रहरी अनुसन्धान जारी छ। शाहको मुद्दामा जनमत विभाजित छ। समर्थकको केही समूह पलको पक्षमा तनहुँ प्रहरी परिसरमा अनुसन्धानमै असर पर्नेगरी नाराबाजी र हुलहुज्जत गर्नमा लागिपरेको छ।

कसुर गरे सजायँ र नगरे सफाइको कानुनी व्ययवस्था हुँदाहुँदै समर्थकहरु भने शाह नियन्त्रणमा परेदेखि तनहुँ पुगेका छन्। समर्थकलाई पछ्याएका छन् युट्युब पत्रकारिता गर्नेहरुले। पत्रकारिता भनेर उनीहरुले जनमत विभाजित पार्ने, अनुसन्धान प्रभावित पार्ने खालले सामग्री उत्पादन गरिरहेका छन् । एकपक्ष रुपमा पलका समर्थकको आक्रोश र पीडित पक्षको दोहोलो काड्ने गरी प्रसारित भइरहेका सामग्रीले न्याय सम्पादनको प्रक्रिया पूरा नहुँदै समाजले स्वघोषित फैसला सुनाउने अवस्था सिर्जना भएको छ।

युट्युबर र सामाजिक अभियन्ताका नाममा उनको बचाउमा अभियान नै छेडिएको छ। उनलाई पछ्याउँदै काठमाडौंको अनामनगरमा ‘पल शाहलाई न्याय दे’ अभियान नै चल्यो। उनीहरूले ‘पल शाहलाई रिहा गर’, ‘दुर्गेश थापा मुर्दावाद’ जस्ता नारा लगाएका थिए। एकातिर अभियुक्तको पक्षमा अभियान र अर्कोतिर पीडितलाई कमजोर पार्न खोजेको आ’क्रो’शले समाज विभाजित भइरहँदा अनुसन्धान पक्ष प्रभावित हुन्छ कि चिन्ता पनि छ।

अधिवक्ता ऋषिराम शर्मा विचाराधीन विषयमा अनुसन्धान प्रभावित गर्ने खालका गतिविधि गर्न नहुने बताउँछन्। उनले भने, ‘मुद्दा प्रभावित हुने गरी हुलहुज्जत गरेमा अवहेलनासम्म हुन्छ। न्याय प्रक्रियालाई प्रभाव पार्ने गरी मिडिया ट्रायल गर्न मिल्दैन। यसले अनुसन्धान तहकिकात विधि पद्धती, मूल्य, मान्यता, निष्पक्षता हुँदैन। काम नै गर्न पाउँदैन। स्वतन्त्र ढंगले काम गर्न दिनुपर्छ। बाहिर किन बोल्नुपर्‍यो? यो न्यायीक मूल्य र मान्यता विपरीत हुन्छ।’

अनुसन्धान गरिरहेको नेपाल प्रहरीले बाहिर भइरहेका गतिविधिलाई नजरअन्दाज गरेर अघि बढेको बताउँछ। केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी विष्णुकुमार केसी अनुसन्धान भइरहेको विषयमा मुद्दा प्रभावित गर्ने गरी क्रियाकलाप गरेको ठहर भएमा कानुनबमोजिम कारबाही हुने गरिने बताउँछन्। उनले भने, ‘पल शाहमाथि अनुसन्धान भइरहेको छ। प्रहरी कार्यालयभित्र जानलाई कडाई गरिएको छ, अनुमति दिइएको छैन। बाहिरको हुलबाट हामी प्रभावित हुँदैनौं।’

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता युवराज खड्काले आफूहरु अनुसन्धानबाट विचलित नहुने बताए। उनले कोही कसैले अनुसन्धान प्रभावित पार्न नसक्ने प्रस्ट्याए।

 

 

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्