एजेन्सी ।
लियोनल मेसी विश्वका उत्कृष्ट फुटबलरमध्ये एक हुन्। लामो समय फुटबलमा सनसनी मच्चाएका उनी हाल फुटबल करियरको अन्त्यतिर छन् । उसो त मेसीले अब सन्यास लिने चर्चा पनि भइरहेका छन् ।
मेसी आफैंले पनि आनो सन्यासबारे मुख खोलेका छन्। विश्वकप छनोटको खेलमा भेनेजुएलालाई हराएपछि उनले प्रतिक्रिया दिँदै अब धेरै कुराबारे सोच्ने समय आएको बताएका छन् । उनले आफ्नो फुटबल भविष्य अनिश्चित रहेको बताएका हुन् ।
‘मलाई वास्तवमै केही थाहा छैन । मलाई अब के आउँछ भन्ने मात्र थाहा छ, जुन धेरै नजिक छ। (विश्वकप छनोटमा इक्वीडरसँगको खेल),’ उनले भने, ‘विश्वकप पछि चाँहि मैले धेरै विषयमा पुनः सोच्नुपर्नेछ। चाहे त्यो राम्रो होस् वा नराम्रो।’
‘यहाँ धेरै राम्रो मानिसहरु छन्। उनीहरु मलाई धेरै माया गर्छन्। दिनदिनै उनीहरु धेरै माया देखाउँछन् । म धेरै खुशी छु । मलाई अर्जेन्टिना आउँदा यही कुराले धेरै आनन्द दिन्छ,’ उनले थपे, ‘सबै कुरा प्राकृतिक रुपमा अघि बढ्छ। यसले मैदानमा पनि सहज ह्ुन्छ। जितले धेरै कुरालाई राम्रो र सजिलो बनाउँछ।’
‘विश्वकपमा जानुअघि अर्जेन्टिनामा यो नै अन्तिम खेल(भेनेजुएलासँगको खेल) हो । मलाई लाग्छ यो राम्रो तरिकाको बिदाई हो,’ मेसीले भने ।