निर्वाचनमा प्रचण्डको महिला मैत्री ५ बुँदे सर्कुलर, उपप्रमुखमा महिलालाई सिमित नगर्ने



काठमाडौ । नेकपा माओवादी केन्द्रले आगामी निर्वाचनका लागि महिला मैत्री सर्कुलर जारी गरेको छ । सो पार्टीका अध्यक्ष प्रचण्डले स्थानीय तह निर्वाचन केन्द्रीत ५ बुँदे विशेष सर्कुलर जारी गरेका छन् । जसमा महिलालाई उपप्रमुखमा सिमित नगर्ने भनिएको छ । साथै माओवादीले हरेक जिल्लामा कम्तिमा एक पालिका प्रमुख वा अध्यक्षमा महिला अनिवार्य गर्न सर्कुलरमा भनेको छ ।

स्थानीय तहका उम्मेदवार छनौटका लागि आवश्यक पार्टी केन्द्रले सोमवार मातहतका कमिटीमा सर्कुलर पठाएको हो । जसमा उम्मेदवारको नाम वैशाख ५ गतेभित्र सिफारिस गरिसक्न भनिएको छ । यस्तै स्थानीय तहमा केन्द्रको स्वीकृति बिना आफूखुसी गठबन्धन तोड्न रोक लगाइएको छ ।

बरु गठबन्धनमा तालमेलका लागि प्राथमिकताका साथ जोड गर्न मातहतका कमिटीलाई भनिएको ती नेताले बताए । माओवादीले महानगर र उपमहानगर क्षेत्रबाट बढीमा ३ जना उम्मेदवारको नाम मागेको छ । सर्वसम्मत भए एक जना नभए तीन जना सम्मको नाम पठाउनु पर्नेछ ।

चुनावमा सत्तारुढ दलहरुबीच गठबन्धनमा तालमेलका लागि प्राथमिकताका साथ जोड दिन पनि माओवादीले निर्देशन दिएको छ । ‘केही स्थानमा तालमेल हुन नसक्ने अवस्था आएमा र गठबन्धनकै दलहरुबीच स्वस्थ प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आएमा केन्द्रको स्वीकृति लिई गर्नुपर्ने छ’, सर्कुलरमा भनिएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्