परदेशी श्रीमानलाई नयाँ वर्षको उपहार,‘तपाईँको ईमेल इनबक्स, मेरो चिठ्ठीको हुलाक’



मेरो प्यारो मान्छे तपाईँ, तपाईँलाई मेरो हृदयदेखि नै धेरै धेरै माया र सम्मान । वर्षौंपछि आजफेरी तपाईँलाई यो एउटा चिठ्ठी लेख्न मन लाग्यो । यस पटक केही फरक तरिकाले नयाँ वर्षको शुभकामना दिन मन लाग्यो । अनि तपाईँको ईमेलको इनबक्सलाई मेरो चिठ्ठीको हुलाक बनाउन मन लाग्यो । मेरो प्यारो मान्छे, मरो जेठू, म तपाईँलाई आफुभन्दापनि धेरै माया गर्छु । भन्न त भन्छन् यो संसारमा आफुलाईभन्दा धेरै माया अरुलाई गरिंदैन भनेर । तर मेरोलागी यो भनाई नै गलत हुन्छ । यदि मेरो सास दिएर तपाईँको आयु लामो हुन्छ भने म मेरो सास रोकिदिन तयार छु । तर मलाई थाह छ मेरो सास रोकिंदा कोही सबै भन्दा बढी दुखी हुन्छ भने त्यो हजुर नै हो त्यसैले सास बाँड्न तयार छु।

यो चिठ्ठी नितान्त तपाईँलाई मेरो प्रेम अभिव्यक्त गर्नकोलागी लेखेकी हुँ । जुन आजुसम्म मैले गरेकी छैन । जमाना अब त्यो रहेन । टेक्नोलोजीले फड्को मारि सक्दापनि म भने तपाईँलाई उही पहिलाको जमाना जस्तै गरी चिठ्ठी लेख्न रुचाउँछु । भलै ल्यापटकको स्क्रिनमा लेख्छु अनि ईमेलको इन्बक्समा सेण्ड गर्छु तर यही गर्न मन पराउँछुु । तपाईँलाई थाहा छ ? तपाईँ मेरो जीवनमा आउनुभन्दा अघि मेरो कुनै डेस्टिनेशन थिएन । हिंडिरहेकी थिएँ आफ्नै सुरमा तर कहाँ पुग्ने कुनै लक्ष्य नै थिएन । पछि आएकाहरुले उछिनेर जान्थे अनि संगैकाले धेरै अगाडी नै जिल्ला छाडेर राजधानी पसिसकेका हुन्थे ।

उनीहरुको प्रगतिमा मन एक प्रकारले छटपटिन्थ्यो । मनमा बेचैन हुन्थ्यो । साँच्चै भन्ने हो भने मेरो जीवन झर्न लागेको पात झैं लाग्थ्यो मलाई । आधा हरियो अनि आधा पहेंलो । क्षितिज देखिन्थ्यो तर धमिलो । सबैको नजरमा म स्ट्रंग देखिन्थे तर म भित्रभित्रै कम्जोर हुँदै गई रहेकी थिएँ । अरुले मेरो कम्जोरीको फाईदा नउठाउन् भन्नकोलागी पनि मैले आफुलाई सधैं स्ट्रंग बनाउने कोशिशमा लागि रहेकी हुन्थें । म केवल कोशिश गर्दै थिएँ आफुलाई स्ट्रंग बनाई रहन तर तपाईँ मेरो जीवनमा आएपछि मैले आफुुलाई स्ट्रंग बनाउनकालागी त्यो मेहेनत नै गर्न परेन ।

डियर जेठू, तपाईँ मेरोलागी त्यो स्ट्रंग पोईन्ट बनेर आउनु भयो जस्ले मलाई आजसम्म पनि भित्रैबाट बलियो बनाई रहेको छ । त्यसैले म भन्छु तपाईँ मेरो हिरो मात्रै हैन मेरो इस्पिरेशन पनि हो । म गर्व गर्छु तपाईँको श्रीमती भएर तपाईँको हमसफर हुन पाएकोमा । तपाईँको संर्घष र सफलता अनि बाल्यकालको कथालेपनि मलाई बेग्लै ऊर्जा दिईरहेको हुन्छ । तपाईँलाई म कसरी भनूँ कि तपाईँको बाल्यकाल बितेको त्यो खेवांगको डाँडापाखामा सुस्ताउने हावासंग प्रेम छ मलाई । सानोमा तपाईँले माछा मार्ने र पौडि खेल्ने ती खोलाहरुसंग प्रेम छ मलाई । घरमा पढ्न पाईँदैन भनेर घरमाथिको ढुंगा मुनि लुुकेर पढ्ने गर्नुहुन्थ्यो रे जब यो कुरा सुनें मैले अनि त्यो ढुंगासंग प्रेम छ मलाई ।

बिवाह दर्ता गराउन गएको बेला तपाईँले म पढेको स्कूल यही हो भनेर देखाउनुु भएको थियो त्यो स्कूलसंग प्रेम छ मलाई । स्कूल जाँदा यही बाटो जानु पथ्र्यो भनि कतै उकालो त कतै ओरालो भएको गोरेटे बाटो देखाउँदै मुस्कुराएर तपाईँ फ्ल्यास् ब्यकमा फर्कनु भएको थियो, ती बाटाहरुसंग प्रेम छ मलाई । घाँसदाउरा गर्ने बन यही हो भन्दै घर माथिको जंगल देखाउनुु भएको थियो । आजपनि सम्झन्छु म त्यो बनलाई ।

तपाईँले भीर छलेर घाँस काटेको र रुख चढेर दाऊरा झारेको ठाउँ देखाउँदै गर्दा मैले जंगलका एकएक रुख नियालेकि थिएँ । ती रुखहरुसंग प्रेम छ मलाई । त्यो घनघोर जंगलमा कालिजलाई नजिकैबाट देख्ने मौका पाएकी थिएँ । अनि त्यही जंगलमा सानो छँदा किताबमा पढेको सुनाखरी फुललाई पनि छुन पाएकी थिएँ । ती बनपाखा, त्याहाँका रुखहरु, पात पतिंगर र लेकमा रमाउने चराचुरुंगी अनि हिमाली फुुलहरु सबैसंग अथाह प्रेम छ मलाई जेठू ।

मेरो प्यारो मान्छे, मलाई त यतिसम्म गर्न मन छ, यदि मिल्ने भए बाल्यकालमा तपाईँ हिंडेका ती गोरेटाहरु, तपाईँले चाहारेका ती बनपाखाहरु, आमाको आँखा छलेरै भएपनि तपाईँले डुबुल्कि मार्दै पौडि खेलेका ती खोलाहरु, अनि तपाईँ पढेको त्यो साँगादिनको स्कूल आदि इत्यादि सबै सबैलाई समेटेर विश्वको एउट सुन्दर विश्व विद्यालय नै बनाउन मन छ मलाई । जहाँ संसार भरीका मान्छेहरु आएर बुझुन्, अध्ययन गरुन्, त्यो ठाउँको बारेका आफ्नो देश फर्किएर बयान गरुन्, सेल्फी खिचुन् ।

सुन्दा अनौठो लाग्ला तर यो मेरो मन भित्रको चाहाना हो । जुुन आजसम्म तपाईँलाई भनेकी थिईन । मलाई थाहा छ यो चिठ्ठी पढेर तपाईँ मनैमन मुस्कुराउनु हुनेछ । अनि भन्नु हुनेछ,‘नसकिने भो बा….’ माई डियर जेठू, तपाईँ परदेशमा हुनुहुन्छ । हामी जतिखेरै भिडियो कलमा बोली रहेका हुन्छौं तर मन भित्रका कतिपय यस्ता कुराहरु हुनेरहेछन् जस्लाई प्रत्यक्ष सुुनाउन नसकिने । ती भिडियो कलमा कहिल्यैपनि तपाईँप्रतिको मेरो मायालाई यसरी सुनाएर अभिव्यक्त गर्ने हिम्मत आएन मलाई । अनि त वर्षौंदेखि सुनाउन चाहेको कुरा यसरी चिठ्ठी मार्फत सुनाउँदै छु तपाईँलाई । हाम्रो देशको राजनीतिले परदेशी बनायो तपाईँलाई ।

यो देशको सिस्टमले परिवारदेखि टाढा सात समुन्द्र पारी पुर्यायो तपाईँलाई । आज वर्षको नयाँ दिन घर शुन्य छ । मन शुन्य छ । सामाजिक सञ्जालका विभिन्न माध्यमहरुमा संगै भएका श्रीमान श्रीमतीले एकै ठाउँ बसेर एउटै फ्रेमबाट नयाँ वर्षको शुभकामना दिई रहेका छन् । त्यो देख्दा तपाईँ पनि भईदिएको भए…..भन्दै मलाई मेरै जिन्दगी नै शुन्य लाग्छ जेठू । जब छोरीले तपाईँको तस्वीर हेर्दै दुई हातलाई फैलाउँदै ड्याडीको धेरै माया लाग्छ भन्छिन् अनि त झनै यो ब्रह्माण्ड नै शुन्य लाग्छ मलाई । यस पटकको स्थानिय चुनावमा धेरै युवाहरुले आफ्नो गाउँ आफै बनाछौं भन्दै उम्मेद्धारको लिस्टमा आफ्ना नाम दिएका छन् ।

जनताले नयाँ कुरा खोजी रहेको बेला केही नयाँ आशा पलाएको छ मनमा । अनि लाग्ने गर्छ कास्……मेरो प्यारो मान्छे तपाईँ, तपाईँ पनि आफ्नै देशमा भई दिएको भए त यतिबेला तपाईँको पनि उम्मेद्धारी कुनै न कुनै तह र तप्कामा पथ्र्यो होला । किनभने यो देशको चिन्ता त्यो परदेशमा बसेरपनि तपाईँलाई कति छ भन्ने कुराको चिन्ता मैले राम्रै बुझेकी छु । त्यसैले यो नयाँ वर्षको दिन तपाईँलाई मेरो शुभकामना यही छ कि तपाईँका सबै इच्छा चाहानाहरु आउने समयमा पुरा भएको होस् ।

देशप्रतिको तपाईँको जुन चिन्ता छ त्यो यही देशमा बसेर साम्य हुन सकेकोहोस् । आउने दिनहरुमा भिडियो कमलमा हैन, एउटै फ्रेममा बसेर क्यामेराको एउटै लेन्सबाट एकअर्कालाई नयाँवर्षको शुभकामना दिन पाईएकोहोस् । एकअर्काको दुःख सुख संगै बाँड्न पाईएकोहोस् । आई लभ यू माई हिरो । लट्स् अफ लभ । पात्रोले साल फेरे झैँ नयाँबर्षले तपाईँ हामी सबैको हाल फेरियोस् अनि चाल फेरियोस् । फेरीपनि नयाँ वर्ष २०७९ को धेरै धेरै शुभकामना हजुरलाई ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्