ए मर्द ! सक्छौ भने सम्बन्ध राख्न आऊ



वैकुण्ठ ढकाल :

लेख्न खोजेको विषय अर्कै थियो । ल्यापटप नखोलेको पनि ३९ दिन भइसकेछ । चार्ज सकिएको । रातको ९ बजेर एक मीनेट जाँदा बल्ल खुल्यो ल्यापटप । साइडमा भएको मोबाइल पनि चलाइरहेको थिएँ । मोबाइलमा फेसबुक खुलेको थियो ।

म्यासेञ्जरमा एक महिलालाई कल गरें । कहिलेकाहीं कुरा हुन्थ्यो । एकै पटकमा कल रिसिभ भएको घटना निकै कम हुन्थ्यो । तर आज अचम्मै भयो, एक घण्टीमा उठ्यो मात्रै हैन, मैले अडियो कल गर्दा उतैबाट भिडियो कलको रिक्वेष्ट आयो । कुरा भयो । खै के झोंक चल्यो फ्याट्टै सोधिदिएँ ‘के हो महारानी, आज पूरा मुडमा हो कि के हो ?’

‘हो महाराज, मध्यरातमा एक ‘युवती’लाई युवाको फोन आउँदा मुड बनाउनै प¥यो नि ?, तर …’ ‘तर कुरा स्पष्ट छ, कुुनै एचआइभी पोजिटिभसँग को तयार हुन्छ र ?’

खै किन हो, पहिलो पटक यो कुरा सुनें । पत्यार लागेन । पटक पटक सोधें । रिपोर्ट नै म्यासेञ्जरमा पठाउन भनें, तर रिपोर्ट आएन । १३ वर्षदेखि खाइरहेको औषधिको बट्टा देखाइन् । अश्रुमिश्रित आवाजले विश्वास दिलायो ।

खासमा ती महिलाले आफूलाई एड्स लागेको कुरा पहिल्यै भनिसकेको ठानेकी रहिछन् । आफू एकल महिला भएको भन्नेबित्तिकै ‘पुरुष’लाई ‘चान्स’ मारिहालुँ भन्ने लाग्ने रहेछ । जसले प्रस्ताव राख्छ उसलाई मेरो प्रश्न ‘के तिमी एचआईभी लागेको व्यक्तिसँग सम्बन्ध राख्न तयार छौ ? अनि त्यसपछि पुरुषहरू विस्तारै सम्पर्कबाहिर पुग्छन् । आनन्दै हुन्छ ।’ कसरी फेसबुक साथी भइयो, कसरी कुराकानी शुरु भयो, यकिन छैन ।

कुनै बेला ती महिलालाई आफ्नो श्रीमानकाे फोटो पठाउन बारम्बार आग्रह गर्दा मानेकी थिइनन् । फेसबुकमा गएर कत्ति खोज्दा पनि भेटिएको थिएन । रातो पोशाक लगाउँथिन् । तर, सिउँदोमा सिन्दूर र गलामा पोते कहिल्यै देखिएन । सिन्दूर र पोते नदेखेपछि मनमा प्रश्न थियो । ती महिलाले एक समय आफ्नो श्रीमान् नेपाली आर्मी भएको बताइन् । प्रत्येक शुक्रबार श्रीमान् घर आउने दाबी गर्थिन् ।

तर म शंका गर्थें ‘फौजी’ र ‘निरन्तर नियमित बिदा’ सम्भव हुन्छ र ? शुक्रवार र शनिवार कल नगर्नू भन्थिन् । गर्थें । कुरा हुन्थ्यो । श्रीमान्लाई देऊ कुरा गर्छु भन्दा अर्कै बहाना बनाउँथिन् । बिर्सने बानी रहेछ । अर्को पटक कुरा हुँदा, श्रीमान् ठेकेदार भएको बताइन् । कुन श्रेणीको ठेकेदार ? मेरो प्रश्न हुन्थ्यो । उनको मुख बन्द हुन्थ्यो । एकतिरको मुख बन्द भएपछि कुराकानी बन्द भइहाल्ने भयो ।

खै त्यो दिन दिउँसै म्यासेञ्जरमा कल आयो, खै कसको रिस थियो । ममाथि खन्याइन् । ‘कस्ता कस्ता मान्छे हुन्छन् बिहान बिहान विधुवाको अनुहार देखेपछि साइत पर्दैन रे, त्यसका लोग्नेचाहिँ अजम्बरी होउन् मेरो शुभकामना !’ (यहाँ विधुवाको ठाउँमा अर्कै शब्द थियो, त्यो यहाँ उल्लेख गर्न उचित ठानिनँ)

लामो समयदेखिको शंका पुष्टि भयो, उनको श्रीमान् यो संसारमा रहेनछन् । त्यो दिन धेरै कुरा सुनाइन्, भडास पोखिन् । संयोगले मेरो बिदाको दिन थियो, सुन्ने फुर्सद मिल्यो । सबै सुनेँ । सानो स्वरले सोधें ‘के भएर तिम्रो श्रीमान्को निधन भएको ?’ ‘टिबी लागेर ।’

फेरि अर्को शंका । टिबी लागेर मान्छे म’रिहाल्नु नपर्ने । शंका हुँदाहुँदै पनि त्यो दिन थप प्रश्न गरिनँ । त्यसपछि केही महिना कुरा भएन । अचानक कल आयो । त्यो दिन ठीकठाकै कुरा भयो । अन्तिममा फेरि नरिसाउने भए एउटा कुरा सोध्छु भनेंं । उनले हुन्छ भनिन् । ‘अँ साँच्ची, तिम्रो लोग्नेको के भएर मृत्यु भएको ?’ जानीबुझी नै लोग्ने र मृत्यु शब्द प्रयोग गरेँ ।

उनको जवाफ ‘ज्वरो’ बि’ग्रिएर । अघिल्लो पटक र अहिले कुरा बाझियो । कुरा बाझिनुको मतलव शंका जन्मियो । केही महिना कुराकानी बन्द भयो । अहिले कुरा गर्दा मेरालागि अपत्यारिलो कुरा सुनाइन् । पढ्दा कथाजस्तो लाग्ने काहालीलाग्दो वास्तविक घटना ।

तिथि मिति दिन उनी तयार भइन् भने सबै खुलाउँला । त्यो बेला उनका श्रीमान निकै बिरामी भएका रहेछन् । जिल्ला अस्पताल हुँदै चितवनको अस्पतालमा उपचार थालियो, रोग पत्ता लागेन । बिरामी २० को १९ पनि भएन । त्यसपछि अस्पतालले त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइदियो । डाक्टरहरूले सबै रिपोर्ट हेरे, बिरामीको इतिहास बुझे ।

अनि एचआईभी टेष्ट गराए । नतिजा पोजिटिभ आयो । ससुरासँग डाक्टरले बिरामीको सबै कुरा बुझिसकेपछि बुहारी र बच्चाको पनि सकेसम्म चाँडो परीक्षण गराउन सुझाए । अनि उपचारका लागि शुक्रराज अस्पताल टेकु पठाए । त्यसको केही दिनमैै श्रीमान् बिते ।

श्रीमान्को काजक्रिया र ४५ दिनको मासिक सकेर टेकुमा परीक्षण गराउँदा ती महिलाको पनि रिपोर्ट पोजिटिभ आयो । ‘त्यसपछि मेरो अवस्था के भयो, म सम्झनै चाहन्नँ । मेरो सन्तानको चाहिँ नेगेटिभ आइदियोस् भनेर कामना गरें, तर कामनाले के काम गथ्र्यो र ! सन्तानको पनि पोजिटिभ ।’

‘दुबै जना एचआइभी पोजिटिभ भएको गाउँघरमा थाहा थियो । शुरुको समयमा निकै कठिन थियो । तर, छरछिमेकले श्रीमान््को गल्तीको सजायँ मैले पाएको भनेर सान्त्वना दियो । त्यसले म’र्नबाट मलाई जोगायो ।’

‘सायद बिहेअघि नै संक्रमित थिए, बिहेसँगै मलाई पनि रोग सारे । दोष एउटाको, सजायँ अर्कोलाई भइरहेको छ । अब यत्ति सुनेपछि अरु ‘पुरुष’ जस्तै साइड लाग्ने त होला नि हैन ?’ कुराको बिट मा’रिन् ।

यसको जवाफ मैले के दिएँ होला त ? कति श्रीमानले श्रीमतीलाई रोग सारे होलान् ? कतिले आफूले गर्दै नगरेको गल्तीको सजायँ पाइरहेका होलान् ।

सन् १९८१ मा पहिलोपटक एचआईभी संक्रमित फेला परेको थियो । सन् २०२० को अन्त्यसम्म ७ करोड ९३ लाख एचआईभी संक्रमित भइसकेका छन् । एड्सका कारण ३ करोड जनाको मृत्यु भइसकेको छ । श्रोत जनआस्था

 

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्