माधव नेपालको पार्टी छोडेर एमाले प्रवेश गरे पुण्य गौतम, मञ्चमै ढोगे ओलीको खुट्टा



काठमाडौं ।

सामाजिक सञ्जालमा भाइरलम्यानका रुपमा समेत परिचित नेकपा एसका सल्लाहकार पुण्य गौतम एमाले प्रवेश गरेका छन्। आज काठमाडौंमा आयोजना भएको एमालेको जनसभाका क्रममा अध्यक्ष केपी ओलीले टीका लगाएर उनलाई एमालेमा भित्र्याएका हुन् ।

ओलीले गौतमलाई एमालेको झण्डा प्रदान गरे भने गौतमले ओलीको खुट्टा ढोगेका छन् । एमाले प्रवेश गरेपछि गौतमले उक्त चुनावी सभामा सम्बोधन पनि गरेका छन् ।

त्यस क्रममा उनले अहिलेको दुनियाँमा ओलीको स्थान भ्लादिमिर पुटिन र सि जिनपिङको जस्तै भएको बताए । उनले ओली राजनेता भएको पनि बताए ।

नेकपा एस कांग्रेसको पुच्छर भएको र एमसीसीमा डबल स्टान्ड लिएकाले आफूले सो पार्टी छोड्ने निर्णय गरेको गौतमले बताए । ‘हामी जे सोचेर त्यो पार्टीमा गएका थियौं, त्यो भएन’, उनले भने, ‘कांग्रेसको बी टिम जस्तो भएर बस्नु भनेको राजनीतिक आ’त्मह’त्यामात्रै हो ।’

एमालेमा आफूलाई केन्द्रीय सदस्यकै आश्वासन मिलेको गौतमको भनाइ छ । यद्यपि टुंगो लागिनसकेको उनले बताए । गौतमले २०४५ सालमा नेकपा मसालबाट राजनीति सुरु गरेका हुन् । उनले आफू २०४६ सालको जनआन्दोलनमा पनि सक्रिय सहभागी रहेको बताउने गरेका छन् । पछि उनी एकता केन्द्र हुँदै माओवादीमा लागे ।

२०५२ सालमा माओवादीले गरेको जनयुद्धमा उनी पहिलो लटकै कार्यकर्ता थिए । लडाकुका रुपमा विभिन्न लडाईंको मोर्चामा समेत सहभागी भएका उनी शान्तिप्रक्रियापछि भने निस्क्रिय बने । ६८ सालमा सीपी मैनाली नेतृत्वको नेकपा मालेमा लागे र त्यसको पोलिटब्यूरो सदस्य बने । पछि गौतमसहित नेकपा मालेको एउटा हिस्सा माओवादीमा गाभियो ।

नेकपा एमाले र माओवादीको एकीकरणपछि बनेको ४४१ सदस्यि केन्द्रीय सदस्यमा गौतम पनि अटाएका थिए । तर सपथपत्रमा समेत हस्ताक्षर गरेपछि उनीसहित चारजनाको नाम काटिएको थियो ।

गौतमले राजनीतिशास्त्र र अर्थशास्त्रमा फस्र्ट डिभिजनमा स्नातकोत्तर पास गरेका छन् । पीएडी सकाएर कन्भोकेसनको पर्खाइमा छन् ।

गौतम विगतमा बौद्धिक व्यक्तिका रुपमा चिनिन्थे । अखबारहरुमा लेख पनि लेख्थे । तर पछिल्लो समय युट्यूवमा तात्तो न छारोका अन्तर्वार्ताहरु दिएर भाइरलम्यानको छवि बनाएका छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्