रवीन्द्र मिश्रकाे पार्टी निर्वाचन परिणामले अत्यन्तै दुःखी’ !, भन्यो – आर्थिक स्रोत भएन



काठमाडौं, २ जेठ

रवीन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीले स्थानीय तह निर्वाचनको नतिजा अपेक्षाकृत नआएको जनाएको छ । निर्वाचनको नजिताले पार्टीलाई अत्यन्तै दुःखी पनि बनाएको पार्टीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

‘स्थानीय निर्वाचन– २०७९ को परिणाम आउने क्रम जारी छ । विवेकशील साझा पार्टीको नतिजा अपेक्षाकृत आउन नसकेकोमा हामी अत्यन्तै दुःखी छौँ’, पार्टी प्रवक्ता शरदराज पाठकले भनेका छन् ।

मिश्र नेतृत्वको पार्टीले २०७४ मा स्थानीय, प्रदेश, सङ्‍घीयसँगै पछि उप र पुनः निर्वाचन हुँदा पनि प्रतिस्पर्धा गरेको थियो । तीन तहको निर्वाचनबाट देशभरी पार्टीको परिचय स्थापना गर्न सफल भएको पनि प्रवक्ता पाठकले बताएका छन् ।

तर, निरन्तर समय दिन सक्ने जनशक्ति र आर्थिक स्रोतको अभावमा देशव्यापी संगठन बनाउन नसक्दा स्थानीय तह निर्वाचनमा अपेक्षाकृत परिणाम नआएको पाठकको भनाइ छ ।

नजिता पार्टीको पक्षमा नआउनुलाई पार्टीमा आएको टुटफुट र वैचारिक ध्रुवीकरणले ल्याएको उथलपुथल पनि भएको निष्कर्ष उक्त पार्टीको छ । पार्टीले मतदातासँग क्षमा पनि मागेको छ ।

‘हाम्रोजस्तो आशा गरिएको पार्टीभित्रको त्यो उतारचढावलाई मतदाताले मन नपराएको प्रस्ट देखियो । हामी त्यसमा क्षमा प्रार्थी छौँ’, विज्ञप्तिमा उल्लेख छ ।

मिश्र नेतृत्वको पार्टीले हालै ‘विचारभन्दा माथि देश’को राजनीतिक कार्यदिशा अंगालेको छ । यसलाई धेरैले मन पराएका छैनन् ।

सोही कारण पार्टीमा विवाद पनि भएको प्रवक्ता पाठकले स्वीकारेका छन् ।

प्रेस विज्ञप्ति:
स्थानीय निर्वाचन २०७९ को जारी नतिजाबारे
स्थानीय निर्वाचन, २०७९ को परिणाम आउने क्रम जारी छ। विवेकशील साझा पार्टीको नतिजा अपेक्षाकृत आउन नसकेकोमा हामी अत्यन्तै दुःखी छौँ। गत पाँच वर्षमा हामीले स्थानीय, संघीय, उप र पुनः स्थानीय चुनावमा प्रतिस्पर्धा गरिसकेका छौँ। त्यसबाट हामीले देश भरी पार्टीको परिचय स्थापना गर्न सफल भयौँ तर मूलतः निरन्तर समय दिन सक्ने जनशक्ति र आर्थिक स्रोतको अभावमा देशव्यापी संगठन बनाउन सकेनौँ, जुन स्थानीय निर्वाचनमा राजनीतिक दलका लागि अत्यावश्यक थियो।

साथसाथै, पार्टीमा हामीले टुटफुट लगायत वैचारिक ध्रुवीकरणले ल्याएको उथलपुथल पनि ब्यहोर्नुपऱ्यो।हाम्रोजस्तो आशा गरिएको पार्टीभित्रको त्यो उतारचढावलाई मतदाताले मन नपराएको प्रस्ट देखियो। हामी त्यसमा क्षमा प्रार्थी छौँ। अपवादलाई छोडेर, पार्टी निर्माणको स्वाभाविक प्रसव पीडाबाट पार नगरी संसारमा कुनै पनि पार्टी र नेतृत्व निर्माण भएको छैन। गत ५ वर्ष हामी त्यही प्रक्रियाबाट गुज्रियौँ। यो तथ्यलाई पनि मनन गरिदिन हामी विनम्र आग्रह गर्दछौँ।

कतिपय टिप्पणीकार तथा सञ्चारमाध्यमहरूले पार्टीको अत्यन्तै कमजोर नतिजामा पार्टीले केही समयअघि अंगिकार गरेको “विचारभन्दा माथि देश” दस्ताबेजको भूमिका रहेको विश्लेषण गरिरहेका छन्। अहिले मात्र होइन, सो दस्ताबेज नआउँदै र पार्टीमा कुनै वैचारिक विवाद नहुँदै २०७६ सालमा भएको उपनिर्वाचनमा पनि पार्टीले यस्तै कमजोर नतिजा भोग्नु परेको थियो, जुन सोचनीय विषय छ।
वैचारिक उथलपुथल र कयौँ अन्य कमजोरीका बाबजुद हामीले हाम्रो इमानदारी, देशभक्ति र समाज रूपान्तरणको दृढता भने कहिल्यै गुमाएनौँ। त्यो कहिल्यै गुम्ने पनि छैन। यो हाम्रो प्रतिबद्धता हो।
गत पाँच वर्षको पार्टी निर्माणको अनुभवबाट हामीले धेरै सिक्यौँ। ती सिकाइका आधारमा हामीले अब केही निर्मम समीक्षा र निर्णयहरू गर्नु पर्नेछ, जुन हामी गर्नेछौँ।

अरू कयौँ पार्टीहरूले पैसाको खोलो बगाइरहँदा, पार्टीबाट एक पैसा सहयोग नहुने स्पष्ट हुँदाहुँदै पनि परिवर्तनको आकाङ्क्षाले आँट गरेर चुनावमा होमिनु भएका पार्टीका सम्पूर्ण उम्मेदवारहरूप्रति पार्टी अत्यन्तै आभारी छ। त्यसै गरी, निर्वाचन लगायत पार्टीको सम्पूर्ण उथलपुथलमा साथ दिने, नैतिक, आर्थिक र भौतिक सहयोग गर्ने सम्पूर्ण नेपालीहरूप्रति विवेकशील साझा पार्टी हार्दिक आभार प्रकट गर्दछ।
शरदराज पाठक
प्रवक्ता
विवेकशील साझा पार्टी
२ जेठ, २०७९

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्