नारायणगढ–मुग्लिन सडकखण्डमा बसबाट झरेर चाउचाउ किन्न गएका उनि फर्केनन्



चितवन :

चितवनस्थित नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत पर्ने खहरे खोलामा खसेर एक सहचालक बेपत्ता भएका छन्।
उनी आज बिहान चिप्लिएर खोलामा पुगेका थिए।

इच्छाकामना गाउँपालिका वडा नम्बर ५ खहरे खोलामा चिप्लेर कैलालीको गोदावरीका ३५ वर्षीय तेजबहादुर बोहोरा बेपत्ता रहेको प्रहरीले जनाएको छ।

उनी काठमाडौँबाट धनगढीतर्फ जाँदै गरेको ना ६ ख ७४६३ नम्बरको बसका सहचालक हुन्।

बसबाट झरेर चाउचाउ किन्न गएका बोहोराको एउटा चप्पल फेला परेको प्रहरीले जनाएको छ । अहिले बोहोराको खोजीका लागि सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारको टोली परिचालन गरिएको जनाएको छ ।

यो पनि : वर्षायाम सुरु भएसँगै कच्ची सडक ठप्प

वर्षायाम सुरु भएसँगै खोटाङका अधिकांश कच्ची सडक ठप्प भएको छ ।

वर्षाको सिजन सुरु भएसँगै कच्ची सडक हिलाम्मे भएपछि काठमाडौं–लामीडाँडा–खार्पा–दुबेकोल–ऐसेलुखर्क, दिक्तेल–मात्तिम–टेम्मा–याम्खा–पञ्चमी–खोटाङबजार, दिक्तेल–राजापानी–रेग्मीटार–रसुवा, दिक्तेल–जालपा–हौंचुर–फेदी माक्पा–ऐसेलुखर्क, दिक्तेल–पाथेका, दिक्तेल–खार्मी–बालाबेँसी, रसुवा–सिमपानी–खोटाङबजार, रसुवा–रोक्सिङ–पञ्चमी–याम्खा–मात्तिम र रसुवा–टेम्मा–छितापोखरी सडक अवरुद्ध भएका हुन् ।

पानी पर्दा विभिन्न ठाउँमा सडक बिग्रेकाले ग्रामीण क्षेत्र जोड्ने सडकमा बस तथा जीप चल्न छाडेको खोटाङ यातायात प्रालिले जनाएको छ । वर्षाका कारण कच्ची सडकमा बनेको खाल्डाखुल्डी र हिलोमा सवारी साधन भासिने समस्याका कारण अर्को सूचना जारी नभएसम्मका लागि कच्ची सडकमा सवारी साधन चलाउन छाडिएको प्रालिका महासचिव रामकुमार हिङमाङले बताए । हिलाम्मे बनेका कच्ची सडकमा बस तथा जीप हिँड्न सक्ने अवस्था छैन ।

सवारी साधन सञ्चालन नहुँदा आकस्मिक कामका लागि यात्रा गर्नुपर्ने स्थानीय मारमा परेका छन् । सडक सञ्चालन नहुँदा गाउँबाट बिरामी ओसार–पसार गर्ने एम्बूलेन्स सेवा सबैभन्दा बढि प्रभाबित भएको छ । एम्बूलेन्स हिँड्न नसक्ने अवस्थामा कतिपय बिरामीलाई अस्पताल लैजान हेलिकोप्टर चार्टर गर्ने गरिएको छ ।

हाल जिल्लाका कच्ची सडकमा ट्याक्टर र बाईक जवरजस्त चलाउने गरिएको छ । मोटरसाइकल हिलोमा भासिँदा सकसका साथ निकाल्ने गरिएको प्रतिक्रिया सामाजिक सञ्जालमा छ्याप–छ्याप्ती देखिन्छ । हिलाम्मे सडकमा सकसपूर्ण यात्रा गरेका स्थानीयले स्थानीय तह, प्रदेश र संघका जनप्रतिनिधिमाथि आक्रोश पोख्ने गरेका छन् ।

अधिकांश बजेट कच्ची सडक खन्नमा खन्याउने स्थानीय तहले कच्ची सडक स्तरोन्नतीमा भने ध्यान दिएको देखिन्न । स्तरोन्नतीमा विनियोजन गरिएका बजेट पनि टालटुल पारेर सक्ने गरिएको स्थानीयको जनगुनासो छ ।

हाल कालोपत्रे भइसकेका मध्यपहाडी लोकमार्ग अन्तरगत दिक्तेल–हलेसी–जयराम तथा दिक्तेल चखेवाभञ्ज्याङ सडक खण्डमा मात्र सवारी साधन गुडिरहेका छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्