काठमाडौं :
रवि लामिछानेको नेतृत्वको नयाँ पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीले आज पत्रकार सम्मेलन गर्ने भएको छ । पार्टी गठनको घोषणापछि आज पहिलोपटक राष्ट्रिय स्वतन्त्र पार्टीले पत्रकार सम्मेलन गर्न लागेका हो ।
डाक्टर मुकुल ढकालले राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवक्ताको जिम्मेवारी पाएका छन् । प्रवक्ता ढकालको हस्ताक्षरसहित पत्रकार सम्मेलन भन्दै पार्टीले पत्र सार्वजनिक गरेको छ ।
आज अपरान्ह ४ बजे पत्रकार सम्मेलन गरिने जनाइएको छ । ऋषि धमला सभापती रहेको भृकुटी मण्डपमा अवस्थित रिपोर्टस क्लवमा पत्रकार सम्मेलन हुनेछ । प्रवक्ता विराटनगरका ढकाल कालिकोटको रास्कोट अस्पतालका डाइरेक्टर हुन् ।
लामिछानेको पहलमा उक्त अस्पताल बनेको थियो । पत्रकारिता छोडेर राजनीतिक यात्रा अघि बढाएका लामिछानेले आफ्नो पार्टीमा २१ जना रहेको बताए पनि को–को छन् भन्ने खुलाएका थिएनन् ।
सञ्चारकर्म छाडेर राजनीतिमा लागेका रवि लामिछाने कुन ठाउँबाट चुनाव लड्लान् भन्ने चासो सबैलाई छ । तर राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरे पनि उनले आफूले कुन निर्वाचन क्षेत्रबाट चुनाव लड्ने भनेर स्पष्ट खुलाएका भने छैनन ।