राप्ती नदीमा ह्वात्तै बढ्यो पानीको सतह, नदी तटीय क्षेत्रका बासिन्दालाईसतर्कता अपनाउन आग्रह



राँझा:

राप्ती नदीमा पानीको सतह बढ्दै गएपछि स्थानीय प्रशासनले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ ।गत मध्यरातबाट परेको अविरल वर्षाका कारण नदीमा बाढीको सतह बढ्दै गएको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र बाँकेका सूचना अधिकृत रुपन ज्ञवालीले जानकारी दिनुभयो ।

उहाँका अनुसार, पछिल्लो छ घण्टामा बाँकेमा १५० मिलीमिटर वर्षा मापन भएको छ । बुधबार बिहान ९ बजे राप्ती नदीमा पानीको सतह ३ दशमलव १८ मिटर रहेको छ । आज दिनभरि मध्यम वर्षाद भइरहने अनुमान रहेकाले राप्ती नदीमा बाढीको सतह बढ्न सक्ने छ ।

कुसुमस्थित राप्ती नदीमा पानीको सतह पाँच मिटर रहे चेतावनीको सतह र ५ दशमलव ४ मिटर भए खतराको सतह मानिन्छ । राप्ती नदीमा खतराको सतहमा पानी भए डुडुवाको होलिया, चौफेरी, बेतहनी, कम्दी र राप्तीसोनारी गाउँपालिकाको बैजापुर, बिनौना, फत्तेपुरलगायत क्षेत्र डुबानमा पर्ने गरेका छन् ।

राप्ती नदीमा पानीको सतह बढ्दै गएपछि नदी तटीय क्षेत्रका बासिन्दालाई सजग रहन सूचना जारी गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताउनुभयो । नदीमा बाढी बढेकाले माछा तथा बगेर आएका काठ दाउरा छोप्न नदीमा पस्ने काम नगर्न ÷नगराउन प्रशासनले आग्रह गरेको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्