७ वर्षीय अभिषेक थारुसहित चट्याङ लागेर चार जनाको मृत्यु



काठमाडौं, १५ असार :

पर्सा, बागलुङ, धादिङ र बाँकेमा चट्याङ लागेर चार जनाको मृत्यु भएको छ ।

पर्साको सखुवा प्रसौनी गाउँपालिका–१ औराहा रेन्ज बस्ने ३२ वर्षीय हरेन्द्र दास थारुको सोही ठाउँस्थित खेतमा काम गर्ने क्रममा चट्याङ लागेर मंगलबार मृत्यु भएको छ ।

बागलुङको काठेखोला गाउँपालिका–४ तग्राम फापरखेत बस्ने २८ वर्षीया सुस्मा पुनको आफ्नै घरको भान्सा कोठामा बसिरहेको अवस्थामा चट्याङ लागेर मंगलबार राति मृत्यु भएको छ ।

चट्याङ लागेर अशक्त भएकी उनको धवलागिरी अस्पताल बागलुङमा उपचारको क्रममा मृत्यु भएको हो ।

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–२ बेलगाउँ बस्ने ४२ वर्षीय लिलामान कुमालको आफ्नै गोठमा गाईलाई घाँस हाल्न जाँदा चट्याङ लागेर मंगलबार राति घटनास्थलमै मृत्यु भएको छ ।

बाँकेको राप्तीसोनारी गाउँपालिका–३ नारायणपुर बस्ने सुनिता थारुको छोरा ७ वर्षीय अभिषेक थारुको चट्याङ लागेर मंगलबार साँझ मृत्यु भएको छ ।

आफ्नै घरको आँगनमा खेलिरहेको अवस्थामा चट्याङ परी घाइते भएका उनको नर्सिङहोम नेपालगंज बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्