चितवनमा यस्तो हर्कत गरेर भागेका ६ जनालाई फिल्मी शैलिमा समात्यो प्रहरीले



चितवन, १५ असार :

चितवनमा मोटरसाइकल र स्कुटर चोरीका घटनामा युवाहरू बढी संलग्न भएको पाइएको छ ।प्रहरीले मोटरसाइकल तथा स्कुटर चोरी गरी विक्री तथा खरिद गरेको आरोपमा २२ देखि ३१ वर्ष उमेर समूहका विभिन्न ६ जनालाई पक्राउ गरेको छ । जिल्लाका विभिन्न स्थानबाट चोरी भएका चार मोटरसाइकल र एक स्कुटरसहित आरोपितलाई प्रहरीले पक्राउ गरेको हो ।

पछिल्लो समय जिल्लामा मोटरसाइकल र स्कुटर चोरीको घटना बढेपछि चितवन प्रहरीले निगरानी बढाएको थियो ।

मोटरसाइकल चोरी गरी नम्बर प्लेट परिवर्तन गरी विक्री गर्ने गरेको आरोपमा भरतपुर महानगरपालिका–१६ घर भई हाल भरतपुर–११ बस्ने २२ वर्षीय सङ्कल्प पनेरु र बागलुङ जिल्ला जैमिनी नगरपालिका–८ घर भई भरतपुर–११ बस्ने २४ वर्षीय जीवन पौडेललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए ।

उनीहरूलाई भरतपुर–९ स्थित डेरामा चोरी गरी ल्याएको ना ५६ प ७६४६ नम्बरको बुलेट मोटरसाइकल, ग २२ प ६६९३ नम्बरलाई परिवर्तन गरी बा प्र ०३ ००१ प ८९५ को नम्बर प्लेट लगाइएको अवस्थाको क्रसफायर मोटरसाइकलसहित पक्राउ गरिएको उनले बताए ।

प्रारम्भिक अनुसन्धान गर्दा उनीहरूले १२ असारमा पुरानो मेडिकल कलेज अगाडिबाट चोरी गरेको उक्त क्रसफायर मोटरसाइकल माडी नगरपालिका–९ बस्ने ३१ वर्षीय विजय दुरालाई ६० हजार रुपैयाँमा विक्री गरेकाका थिए । दुरालाई नगद ३६ हजार रुपैयाँसहित नियन्त्रणमा लिइएको उनको भनाइ छ ।

उनै व्यक्तिहरूले ९ असारमा भरतपुर अस्पतालबाट चोरी गरेको प्रदेश ३–०४ प ४७१८ नम्बरलाई प्रदेश ३–०३–००१ प २८८८ नम्बरमा परिवर्तन गरी भरतपुर–२४ बस्ने २५ वर्षीय जनमराज पुरी र मकवानपुर मनहरी गाउँपालिका–३ घर भई भरतपुर–२४ बस्ने २१ वर्षीय सुशील पुरीलाई विक्री गरेका थिए । जनमराज र सुशीललाई उक्त मोटरसाइकलसहित भरतपुर–२४ बाट पक्राउ गरिएको अधिकारीले बताए ।

त्यस्तै, २ असारमा भरतपुर–२ क्षेत्रपुर स्थितबाट चोरी भएको प्रदेश ३–०३–००१ प ५११० नम्बरको स्कुटरको खोजतलास गर्ने क्रममा उक्त स्कुटरको नम्बर परिवर्तन गरी प्रदेश २–०११–००२ प ६०२५ नम्बरको प्लेट लगाई स्कुटरको रङसमेत परिवर्तन गरिएको अवस्थामा बारा पर्सौनी गाउँपालिका–१ घर भई भरतपुर–२ बस्ने २७ वर्षीय राजेश पासवानलाई स्कुटरसहित पक्राउ गरिएको उनले जानकारी दिए ।

१४ असारमा भरतपुर–५ स्थितमा मोटरसाइकल चोरी गरी ल्याएको छ भन्ने सूचना प्राप्त भएपछि प्रहरीले प्रदेश २–०३–००१ प ४०५६ नम्बर लगाइएको मोटरसाइकल नियन्त्रणमा लिएको थियो ।

उक्त मोटरसाइकल चोरी गर्ने मानिस प्रहरी टोलीलाई देख्नासाथ मोटरसाइकल बाटोमा नै छाडी फरार भएकोले निजको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

यसअघि गत असोज महिनामा सञ्चालित ‘चार्ली माइक’ अभियानबाट १४ जना व्यक्तिहरू पक्राउ परेका थिए । तीमध्ये केही धरौटीमा छुटेका छन् भने केही कारागारमा छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्