भक्तपुरमा आँगनमा लगाएको १२ फिट अग्लो पर्खाल भत्कियो,बाटोमा हिँड्दै गरेकी नारायणदेवीले घटनास्थलमै गुमाइन ज्यान



भक्तपुर :
सूर्यविनायक नगरपालिका–१० चित्तपोल लाकुरीस्थित कान्छा श्रेष्ठको घरआँगनमा लगाएको १२ फिट अग्लो पर्खाल भत्किएर पुरिँदा एक महिलाको मृत्यु भएको छ ।

साँझ वर्षाका कारण पर्खाल भत्किएर पुरिँदा बाटोमा हिँडिरहेकी सोही ठाउँ बस्ने ६६ वर्षीया नारायणदेवी थापाको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो ।

घटनाका बारेमा महानगरीय प्रहरीवृत्त जगातीको टोलीले आवश्यक अनुसन्धान सुरु गरेको र शव परीक्षणका लागि काठमाडौँ मेडिकल कलेज दुवाकोट पठाइएको उहाँले जानकारी दिनुभयो ।

बाढीले बाँध कटान गर्दा जोखिम:
अविरल वर्षाका कारण जिता नदीमा आएको बाढीले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा आज दुई ठाउँमा बाँध कटान गरेको छ । तिलाठी कोइलाडी–५ को बर्साइनको बर्साइन टोलमा जिता खोलाले करिब पाँच मिटर बाँध कटान गर्दा २५ घर जोखिममा परेको गाउँपालिका कार्यालयले जनाएको छ ।

यसैगरी वडा नम्बर ७ मा गत वर्ष भत्काएकै ठाउँमा जिता नदीको बाढीले पश्चिमी तटबन्ध भत्काएको छ । वडा नम्बर १ तिलाठीमा समेत खाँडो खोलाको पश्चिमी बाँधमा कटान सुरु भएको छ । वडा नम्बर १ र ७ स्थित बाँधमा लागेको कटान नियन्त्रणको कार्य आजबाट सुरु गरिएको गाउँपालिकाका अध्यक्ष अरुणकुमार मण्डलले बताउनुभयो ।

बाँध भत्किएको ठाउँमा आज गाउँपालिका अध्यक्ष मण्डल, वडा नम्बर ५ का वडाध्यक्ष ललनप्रसाद राउत, इञ्जिनियर भाष्करप्रसाद सिंह तथा विपद् व्यवस्थापन अधिकृत राजेशकुमार झासहितको टोलीले निरीक्षण गरेको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्