झापा :
झापाको बुद्धशान्ति गाउँपालिका–५ आयाबारीमा एउटा हात्ती मृत भेटिएको छ । स्थानीयवासीले आज बिहान ५ बजेतिर खेतमा हात्ती मृतावस्थामा फेला पारेका हुन् ।
डिभिजन वन कार्यालयका सहायक वन अधिकृत राजकुमार खत्रीका अनुसार वनरक्षकले मृत हात्तीलाई सुरक्षा घेरामा राखेका छन् । विज्ञलाई ल्याएर हात्तीको परीक्षण गरिने खत्रीले बताउनुभयो । हात्ती के कारणले मरेको भन्नेबारे परीक्षणपछि मात्र भन्न सकिने उहाँले बताउनुभयो ।
जिप दुर्घटनामा चालकको मृत्यु:डोल्पाको ठूलीभेरी नगरपालिका–९ डाँगीबाडामा आज जिप दुर्घटना चालकको मृत्यु भएको छ ।
सुपानीबाट दुनैतर्फ जाँदै गरेको भे१च १६११ नम्बरको जिप दुर्घटना हुँदा ३५ वर्षीय चालक पूर्णबहादुर डाँगीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक निरञ्जन थापाले जानकारी दिनुभयो । चालक डाँगी डाँडीबागाका बासिन्दा हुन् ।