बल्खुमा भ्यानले ५ वर्षीय छोरा र आमालाई ठक्कर दियो, छोराको ज्यान गयो, आमा गम्भीर घाइते



काठमाडौं, १९ असार :

काठमाण्डौको बल्खुमा आज भ्यानले आमाछोरालाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ । दुर्घटनामा आमा घाइते भएकी छन् ।

मृत्यु हुनेमा भारत घर भएकी योगिता बन्सुरका ५ वर्षीय छोरा आयुष रहेका छन् । भ्यानको ठक्करबाट गम्भीर घाइते भएका बालकको बल्खु स्थित बयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । योगिताको सोही अस्पतालमा उपचार भइरहेको छ ।

बा १३ च ६४१९ नम्बरको भ्यानले आज बिहान पौने १२ बजे पैदल हिडिरहेका आमाछोरालाई एकैसाथ ठक्कर दिएको हो । सवारी साधन सहित चालकलाई प्रहरी वृत्त कालिमाटीले नियन्त्रणमा लिएको छ ।

विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला:ललितपुर, सोलुखुम्बु, पाल्पा र सिन्धुलीमा चार जना व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।

ललितपुरको ललितपुर महानगरपालिका–१३ कुसुन्ती डेरा गरी बस्ने नवलपरासी पूर्व घर भएका ४१ वर्षिय लेख बहादुर महत आफ्नै कोठामा शनिबार मृत अवस्थामा फेला परेका हुन् ।

सोलुखुम्बुको खुम्बुपासाङल्हामु गाउँपालिका–५ थाम्बुचेस्थित थामे गुम्बामा बस्दै आएका ५५ वर्षीय निमा शेर्पा आफू सुत्ने कोठामा शनिबार मृत अवस्थामा फेला परेका छन् । उनको स्थायी ठेगाना खोटाङ ऐसेलुखर्क गाउँपालिका–५ राखाबाङदेल भएको प्रहरीले जनाएको छ ।

पाल्पाको रम्भा गाउँपालिका–३ असर्दिस्थित कालीगण्डकी नदीको किनारमा हाल पहिचान नखुलेकी महिलाको शव आइतबार फेला परेको छ ।

सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ खुर्कोट तल्लो बजारस्थित सुनकोशी नदीको किनारमा हाल पहिचान नखुलेकी करिब ३० वर्षीया महिला शनिबार मृत अवस्थामा फेला परेकी छन् ।

सबै घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्