तीन घण्टामै पेट्रोलबाट चल्ने बाइक–स्कुटरलाई विद्युतीय बनाउन सकिने, खर्च कति लाग्छ ?



काठमाडौं ।

पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्यवृद्धि सँगै धेरैको रोजाइ विद्युतीय सवारी साधन पर्न थालेको छ । खरिदमा पनि महँगो र पेट्रोल पनि महँगो नै भएपछि मानिसहरुको रोजाइ विद्युतीय सवारी साधन पर्न थालेको हो ।

यसअघि पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनको आयात गर्ने ठूला घरानाका अटो व्यवसायीहरुको पनि ध्यान पछिल्लो समय विद्युतीय सवारीमा गएको छ । केहीले विद्युतीय सवारी नेपालमा नै उत्पादन गर्ने गरी उद्योग समेत दर्ता गरेका छन् ।

आम उपभोक्ताको ध्यान विद्युतीय सवारीमा पर्दा सरकारले पनि विद्युतीयसँगै डिजेल तथा पेट्रालबाट चल्ने सवारी साधन नेपालमा नै उत्पादन गर्ने उद्योगलाई विभिन्न छुट दिएको छ ।सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत् नेपालमा नै सवारी साधन उत्पादन गर्ने उद्योगलाई अन्तशुल्कमा छुटदेखि पार्टस् आयातमा समेत छुटको घोषणा गरेको छ ।

त्यसैले पनि बिक्रेता र खरिदकर्ता दुवैको ध्यान अहिले विद्युतीय सवारीमा गएको छ । अहिले पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई पनि विद्युतीय बनाउन सकिने भएको छ । सुन्दर अटो इञ्जिनियरिङले तीन घण्टामै सहज रुपमा पेट्रोलका मोटरसाइकल र स्कुटरलाई विद्युतीय सवारीमा परिवर्तन गर्दै आएको छ ।

सुन्दर अटो इञ्जिनियरिङले करिब तीन महिनादेखि पुराना स्कुटरलाई पेट्रोल र बिजुली दुवैबाट चल्ने ‘हाइब्रिड स्कुटर’ बनाउन थालेको छ । लामो प्रयासपछि कम्पनीले पुराना स्कुटरलाई नयाँ स्वरूपमा पेट्रोल र बिजुली दुवैमार्फत् चल्ने बनाउँदै आएको हो ।

बढ्न थाल्यो माग

सुन्दर अटोका अध्यक्ष भेषबहादुर थापा वाइरिङ, कन्टोलर, ब्याट्री, मोटर र डिस्प्ले परिवर्तन गरेर पेट्रोलबाट सञ्चालन हुने बाइक तथा स्कुटरलाई तीन घण्टामा विद्युतीय सवारी साधनका रूपमा परिवर्तन गर्न सकिने बताउँनुहुन्छ ।

काठमाडौंको धुम्बाराहीमा रहेको प्लान्टबाट दैनिक ठूलो संख्यामा पेट्रोलियम पदार्थबाट चल्ने मोटरसाइकल र स्कुटरलाई विद्युतीय सवारीका रुपमा रुपान्तरण भइरहेको उहाँको भनाइ छ । उहाँले पेट्रोलका साधनलाई विद्युतीय सवारीमा परिवर्तन गर्न सरकारको अनुमति लिनै लामो समय लागेको बताउनुभयो ।

‘हामीले सवारी परिवर्तन गर्नका लागि अनुमति पाउन झन्डै ३ महिना पर्खियौं, सरकारको त्यस्तो नीति नै थिएन’, उहाँले भन्नुभयो, ‘हाम्रै कारणले सरकारले डिजेल तथा पेट्रोलका सवारीलाई ईभीमा परिवर्तन गर्ने निर्णय गरेको हो, सरकारले सूचना जारी गरेको ७२ घण्टाबाटै हामीलै एकैपटक १२ वटा स्कुटरलाई ईभीमा परिवर्तन गरेर देखायौँ ।’

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्