अभिनेता राज बब्बरलाई दुई वर्ष जेल सजाय



मुम्बई, २४ असार:

२६ वर्षअघिको एक घटनालाई आधार मान्दै लखनउको एमपी–एमएलए अदालतले अभिनेता तथा कंग्रेस नेता राज बब्बरलाई दुई वर्षको जेल सजाय सुनाएको छ । उनलाई अदालतले ८५ सय रुपैयाँ जरिवाना पनि तिर्न भनेको छ ।

राजलाई यो सजाय २६ वर्ष पुरानो एक मामलामा सुनाइएको हो । यद्यपि अदालतले उनलाई यो मामलामा अन्तरिम जमानत पनि दिएको छ । अब उनले ३० दिन भित्र उच्च अदालतमा जानुपर्नेछ । फैसलाको समयमा राज अदालतमै उपस्थित थिए । उनले यो फैसलाविरुद्ध उच्च अदालतमा चुनौती दिने बताएका छन् ।

लखनउको वजीरगञ्जमा उनले चुनाव अधिकारीलाई सन् १९९६ मा कुटपिट गरेका थिए । त्यो चुनावमा राज बब्बर प्रत्यासी थिए । सन् १९९६ मे २ मा मतदान अधिकारी श्रीकृष्ण राणाले थाना वजीरगञ्जमा प्रत्याशी राज बब्बर र अरविन्द यादवसहित अन्य व्यक्तिविरुद्ध एफआईआर दर्ता गराएका थिए । यो मामलामा बिहीबार फैसला सुनाइएको हो ।

मतदान अधिकारीका अनुसार मतदान केन्द्र संख्या १९२(१०३ को बुथ संख्या १९२ मा जब मतदाता आउन बन्द भयो, तब उनी मतदान केन्द्रबाहिर निस्किएर खाना खान गइरहेका थिए । त्यही बेला प्रत्याशी राज आफ्नो साथीहरुलाई लिएर मतदान केन्द्रमा आएका थिए र फर्जी मतदानको झुठो आरोप लगाउन थाले । सरकारी काममा बाधा पुर्याउँदै उनले कुटपिट पनि गरेका थिए ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्