देशमा चरम आर्थिक संकट देखिएपछि श्रीलंकाका राष्ट्रपति भागे



कोलम्बो, २५ असार

दबाबमा परेका श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे राजधानीमा रहेको आफ्नो आधिकारिक निवासबाट भागेका छन् । राष्ट्रपति राजापाक्षे शनिबार निवासबाट भागेको एक शीर्ष रक्षा स्रोतलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ । त्यसअघि राष्ट्रपति राजापाक्षेको राजीनामा माग गर्दै उनको निवासको कम्पाउन्डमा प्रदर्शनकारी पुगेका थिए ।

‘राष्ट्रपतिलाई इस्कर्टिङ गरिएर लगिएको थियो’, रक्षा स्रोतले भन्यो । आ क्रोशित भिडलाई राष्ट्रपतिको दरबारमा प्रवेश गर्नबाट रोक्न सेनाले हवाइ फायरसमेत गरेको प्राप्त विवरणमा जनाइएको छ । हजारौं प्रदर्शनकारीले प्रहरी ब्यारिकेड तोडेर राष्ट्रपतिको सरकारी निवासमा पसेको जनाइएको छ । सरकारले लगाएको कर्फ्युकाे अवज्ञा गर्दै भिड राष्ट्रपति निवास बढेको थियो । प्रदर्शनकारीले स्वस्फुर्त कफ्र्यु अवज्ञा गरेपछि सरकारले हटाएको घोषणा गरेको थियो ।

श्रीलंकामा सन् १९४८ पछिकै चरम आर्थिक संकट देखिएकाे छ । देशमा विदेशी सञ्चिति सकिएका छ । ईन्धन अभावमा विद्यालय बन्द छन् । केही दिन अघि राष्ट्रपति गोटाबाया राजापाक्षेले रुसी राष्टपति भ्लादमिर पुटिनसँग इन्धन सहयाेग मागेका थिए ।

श्रीलंकामा एक दिनलाई पुग्ने इन्धन बाँकी रहेको बताइएको छ । देशमा आर्थिक संकट गहिरिएसँग इन्धन अभावले सीमा नाघेको ऊर्जा मन्त्रीले उक्त जानकारी दिएका हुन् । तेल अभावले सार्वजनिक यातायात ठप्प छ । राजधानीमा पेट्रोल र डिजेल भर्ने सवारी साधनको लामो लाइन छ ।

यद्यपि, अधिकांश पम्पिङ स्टेसन केही दिनदेखि इन्धनविहीन छन् । ऊर्जामन्त्री कञ्चना विजेसेखेराले मुलुकमा करिब ४ हजार टन पेट्रोलको भण्डार रहेको र त्यो एक दिनको खपतभन्दा केही कमी भएको बताए। अर्को पेट्रोल ढुवानी २२ र २३ जुलाईको बीचमा हुने उनले अपेक्षा गरेका छन् । टाट पल्टिएको श्रीलंकाले आपतकालीन अवस्थामा बाहेक सबै इन्धन बिक्रीमा दुई हप्ताको लागि रोक लगाएको थियो ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्