आर्थिक संकटसँगै बढ्यो तनाव : श्रीलंकामा प्रदर्शनकारीले कब्जामा लिए राष्ट्रपति निवास



काठमाडौं ।

श्रीलंकामा प्रदर्शनकारीले राष्ट्रपतिको सरकारी निवास कब्जामा लिएका छन् । राष्ट्रपति गोटाबाया राजापाक्षे सुरक्षित स्थानमा गएको भनिएको छ, तर कहाँ छन् भन्ने नखुलेको श्रीलंकन सञ्चार माध्यम डेली मिररले जनाएको छ ।

दबाबमा परेका श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे राजधानीमा रहेको आफ्नो आधिकारिक निवासबाट भागेका छन् । राष्ट्रपति राजापाक्षे शनिबार निवासबाट भागेको एक शीर्ष रक्षा स्रोतलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ । त्यसअघि राष्ट्रपति राजापाक्षेको राजीनामा माग गर्दै उनको निवासको कम्पाउन्डमा प्रदर्शनकारी पुगेका थिए ।

‘राष्ट्रपतिलाई इस्कर्टिङ गरिएर लगिएको थियो’, रक्षा स्रोतले भन्यो । आ क्रोशित भिडलाई राष्ट्रपतिको दरबारमा प्रवेश गर्नबाट रोक्न सेनाले हवाइ फायरसमेत गरेको प्राप्त विवरणमा जनाइएको छ ।

हजारौँ प्रदर्शनकारीले प्रहरी ब्यारिकेड तोडेर राष्ट्रपतिको सरकारी निवासमा पसेको जनाइएको छ । सरकारले लगाएको कर्फ्युको अवज्ञा गर्दै भिड राष्ट्रपति निवास बढेको थियो । प्रदर्शनकारीले स्वतःस्फूर्त कर्फ्यु अवज्ञा गरेपछि सरकारले हटाएको घोषणा गरेको थियो ।

आर्थिक रुपमा टाट पल्टिएको श्रीलंकामा बढ्दो महंगी र अत्यावश्यकीय वस्तुको चर्को अभाव छ । देशको विद्यमान आर्थिक संकटका लागि राष्ट्रपति गोटाबायालाई जिम्मेवार मान्दै उनको राजीनामा मागेर लामो समयदेखि आन्दोलन भइरहेको छ ।

यो अवधिमा प्रधानमन्त्री महिन्दा राजापाक्षेले राजीनामा दिएपछि रनिल विक्रमासिंघे प्रधानमन्त्री बने, तर आन्दोलन रोकिएन । आर्थिक संकटसँगै तनाव बढ्दै गयो । शनिबार नै प्रधानमन्त्री रनिल बिक्रमासिंघेले सर्वदलीय बैठक बोलाएका थिए, जहाँ उनले सर्वदलीय सरकार गठनका लागि आफू राजीनामा दिन तयार रहेको बताएका छन् । नागरिकको सुरक्षा सुनिश्चित गर्नका लागि प्रधानमन्त्री, विपक्षीको प्रस्तावमा सहमत भएको उनको कार्यालयले जनाएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्