झापामा मोटरसाइकल दुर्घटना,२६ वर्षीय कुमारको मृत्यु



झापा विर्तामोड शनिश्चरे सडकखण्डमा आज बिहान मोटरसाइकल दुर्घटनामा एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा फिदिम नगरपालिका–५ का २६ वर्षीय कुमार खनाल रहेको विर्तामोड इलाका प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीले दुर्घटनास्थलमा भेटिएको नागरिकताका आधारमा उनी फिदिमको रहेको जनाएको हो । उनी सवार बा४२प १२८ नंको मोटरसाइकल सडकको किनारमा पल्टिएको र खनाल सडकमै मृत भेटिएको प्रहरीको भनाइ छ । दुर्घटना र मृत्युको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख आज नेपाल आउँदै

चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओ नेतृत्वको टोली आज आइतबार नेपाल भ्रमणमा आउँदैछ ।

गत जुनमा सिपिसीको विदेश विभाग प्रमुख बनेका लिउ नेतृत्वको टोली चार दिने नेपालमा रहनेछ । उनी आठ सदस्यीय टोलीको नेतृत्व गर्दै नेपाल आउन लागेका हुन् ।

भ्रमणमा लिउले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत नेतासँग भेटवार्ता गर्नेछन् ।

नेपालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौता पारित गरेपछि चीनबाट दोस्रो उच्च तहको भ्रमण हुन लागेको हो । यसअघि गत चैतमा चिनियाँ विदेशमन्त्री वाङ यीले नेपालको तीन दिने भ्रमण गरेका थिए ।

नेपालले चिनियाँ विकास परियोजना बेल्ट एन्ड रोड इनिसियटिभ (बिआरआई) मा हस्ताक्षर गरिसकेको छ । तर, थप प्रक्रिया अगाडि बढ्न सकेको छैन ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्