बेनी–सिमखण्ड सडक कालोपत्र भएपछि डेढ घण्टा यात्रा अवधि बीस मिनेटमा छोटियो



म्याग्दी, २७ असार:

बेनी–दरवाङ सडकको बेनी–सिमखण्ड कालोपत्र भएपछि यात्राअवधि छोटिएको छ । १२ किलोमिटर ५०० मिटर दूरीको सडक कालोपत्र भएपछि डेढ घण्टाको यात्रा अवधि २० मिनेटमा छोटिएको हो । मङ्गला गाउँपालिका–२ सिमलचौरका अशोक पौडेलले यसअघि एक घण्टादेखि डेढ घण्टा लाग्ने सडकको यात्रा अवधि कालोपत्र भएपछि १५ देखि २० मिनेटमा छोटिएको बताउनुभयो ।

“म्याग्दीको पश्चिमी भेगका नागरिकलाई आवज जावतमा सहज भएको छ”, उहाँले भन्नुभयो, “ढुवानी र आवतजावतमा सहजतासँगै यस क्षेत्रको ब्यापार व्यवसायमा पनि फरक हुन थालेको छ ।” बेनी नगरपालिका–४ तातोपानीका कृषक भविलाल सापकोटाले बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने समस्याबाट मुक्ति पाएर सहज, सुरक्षित र छिटो यात्रा गर्न पाएको बताउनुभयो । “हिलो, धुलो, खाल्डाखुल्डी र साँघुरो सडकमा हिड्नै गाहे थियो”, १२ वर्षदेखि बेनीमा मोटरसाइकलमा दूध ढुवानी गर्दै आउनुभएका उहाँले भन्नुभयो, “सडकका कारण कुनै दिन बजारमा दूध पु¥याउन सकिँदैनथ्यो ।”

बेनीदेखि मङ्गला गाउँपालिका–२ सिमसम्मको सडक कालोपत्र भएपछि जिल्लाको पश्चिमी भेगमा पर्ने तीन पालिकाका बासिन्दा लाभान्वित भएका छन् । मङ्गला, मालिका र धौलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने म्याग्दीको रणनीतिक महत्वको बेनी–दरबाङ सडकको बेनीदेखि सिमखण्ड पूर्वाधार विकास कार्यालयले कालोपत्र भएको हो ।

कार्यालयका निमित्त प्रमुख गुरुदत्त अधिकारीले बेनी–सिमखण्डको सडक कालोपत्र सकिएको जानकारी दिनुभयो । “पहिरोको समस्या र जग्गा विवाद भएकोबाहेकका ठाउँमा कालोपत्र सकिएको छ”, उहाँले भन्नुभयो, “११ मिटर फराकिलो सडकमा सात मिटर चौडाइका दरले कालोपत्र गरिएको हो ।”

डिबिएसटी प्रविधिको कालोपत्र गरिएको हो । कार्यालयका सडक इन्जिनियर सञ्जय सुवेदीले गत चैत पहिलो हप्तादेखि थालिएको कालोपत्र गर्ने काम असार अन्तिम साता सकिएको बताउनुभयो । सडक विस्तार गरेर फराकिलो, नाली र पर्खाल निर्माण सकिएपछि प्राइम कोट, बिटुमिन र चिप्स राखेर दुई चरणमा कालोपत्र गर्नुअघि रोडा, गिट्टी, बालुवा, ढुङ्गा र माटोलाई सडकमा पेलेर लेभल मिलाइएको थियो ।

विसं २०७४ असोज ४ गते रु ४५ करोडमा ठेक्का सम्झौता भएको यो सडकमा पर्याप्त बजेट विनियोजन नहुने, निर्माण कम्पनीले उपकरण र मजदुर परिचालन गर्न नसक्दा ढिलाइ भएको हो । तत्कालीन सडक डिभिजन कार्यालय बागलुङले ठेक्का लगाएको यो आयोजना २०७५ पुसमा प्रदेश सरकारलाई हस्तान्तरण भएको थियो । कालोपत्र भएको खण्डको ढुवानी र यात्रु भाडा समायोजन गर्न स्थानीयवासीले माग गरेका छन् ।

जिल्लाको ‘लाइफलाइन’ मानिने बेनी–दरवाङ सडकको २०६३ मा मार्ग खुलेको थियो । आयोजनाको दोस्रो चरणमा लाम्पाटादेखि दरवाङसम्म आठ किलोमिटर खण्ड सडक कालोपत्रे गर्न रु २२ करोड ५७ लाख ९३२ मा २०७६ जेठ ३१ गते बिरुवा–क्याराभान जेभीले ठेक्का लिएको थियो । पछिल्लो एक वर्षयता निर्माण कम्पनीले काम नगर्दा अलपत्र परेको यो सडकमा हिलो, धुलोको समस्याका साथै दुर्घटनाको जोखिम बढेको मङ्गला गाउँपालिका–२ बाबियाचौरका श्रीराम पौडेलले बताउनुभयो । यो खण्डको हालसम्म करिब ५० प्रतिशत मात्र भौतिक प्रगति छ ।

मङ्गला गाउँपालिकाको सिमदेखि लाम्पाटासम्मको साढे दुई किलोमिटर सडक स्तरोन्नतिका लागि सम्झौता गरेका निर्माण कम्पनीले प्रारम्भिक चरणको काम थालेका छन् । चार किलोमिटर सडक कालोपत्रे गर्न २०७८ पुुस १८ गते ओमबुद्ध निर्माण सेवा वसुन्धराले रु १० करोड ७० लाख २१ हजारमा ठेक्का सम्झौता गरेको थियो । ठेक्का सम्झौताको म्याद १८ महिनाको हो । सडकलाई आठ मिटर फराकिलो बनाएर, सात मिटर चौडाइमा डिबिएसडी कालोपत्र, नाली र पर्खाल निर्माण गर्न लागिएको हो । (रासस)

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्