कान्सको रेड कार्पेटमा हिँड्ने पहिलो नेपाली अभिनेत्री को हुन् भन्दै लोकसेवाले काट्यो प्रश्न पत्र



काठमाडौँ ।

‘कान्स फिल्म फेस्टिभल’मा सहभागी भएर रेड कार्पेटमा हिँडे लगत्तै नेपाली नायिका सुरक्षा पन्तको चर्चा ह्वात्तै चुलियो ।

सफल फिल्महरुमा एकपछि अर्को गर्दै अभिनय गरिरहेकी प्रस्ट वक्ता र राम्रो अभिनय खुबी भएकी सुरक्षा पन्तको नेपाली फिल्म र म्यूजिक भिडियोहरुमा व्यस्त दैनिकीकाबिचमा विश्वकै प्रतिष्ठित ‘कान्स फिल्म फेस्टिभल’मा सहभागी भएर रेड कार्पेटमा हिँड्ने मौका मात्रै पाइनन् सुरक्षा नै पहिलो नेपाली नायिका बनिन् र नाम लेखिन् ।

सुरक्षाले अभिनय गरेको अन्तर्राष्ट्रिय चलचित्र ‘द एट माउन्टेन्स’ कान्सको प्रतिस्पर्धामा छानिएकाले उनले रेड कार्पेटमा हिँड्ने मौका पाए लगत्तै सुरक्षाले रचेको यो इतिहासको बारेमा लोकसेवा आयोगले समेत प्रश्नपत्रमा समेट्न थालेको छ ।

अधिकृत क्याडेट पदको प्रश्नपत्रमा सोधिएको छ( ‘फ्रान्समा भएको कान्स फिल्म फेस्टिभलमा रेड कार्पेटमा हिँड्ने मौका पाउने पहिलो नेपाली अभिनेत्री को हुन् ?’ उत्तरमा अभिनेत्रीहरु प्रियंका कार्की, सुरक्षा पन्त, गौरी मल्ल र करिश्मा मानन्धरको नाम उल्लेख छ ।

अभिनेत्री पन्तले फेसबुकमा पोस्ट गरेको प्रश्नपत्रमा परिक्षार्थीले उनकै नाममा गोलो लगाएका छन् । लोकसेवाको परिक्षामा एउटा उत्तर हुन पाएकोमा उनले खुशी व्यक्त गरेकी छन् ।

यसअघि अभिनेत्री प्रियंका कार्की कान्समा सहभागी भएपनि रेड कार्पेटमा हिँड्न पाएकी थिइनन् । सुरक्षा पन्तले भने विश्व प्रख्यात सेलिब्रेटीहरुले पाइला नापिसकेको रेड कार्पेटमा हिँडेर कान्सको सभा हलमा प्रवेश गरेकी थिइन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्