काठमाडौंमा फोहोर उद्योग कारखाना खोल्ने तयारीमा मेयर बालेन शाह



काठमाडौं – काठमाडौं महानगरपालिकाले फोहोरमैला उद्योग स्थापना गर्न ६५ करोड बजेट छुट्याएको छ । महानगरको फोहोरबाट मललगायत अन्य वस्तु उत्पादन गर्ने उद्देश्यले आधुनिक प्रविधिको उद्योग स्थापना गर्न लागिएको हो । कामपाको चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रममा फोहोरमैलासम्बन्धी आधुनिक उद्योग स्थापना गर्न ६५ करोड रुपियाँ विनियोजन गरिएको बजेट पुस्तिकामा उल्लेख छ । छपाइको क्रममा रहेको बजेट पुस्तिकाको ९ सय ३ बुँदामा यसको विवरण दिइएको छ ।

कामपाका सार्वजनिक निर्माण विभाग प्रमुख निर्देशक रामबहादुर थापाले तत्काल स्थान पहिचान गरी उद्योग स्थापना गर्ने तयारी भइरहेको जानकारी नेपाल समाचारपत्रलाई दिनुभएको छ । उहाँका अनुसार कामपाले सहयोग गरेका उपत्यकाका नगरपालिकासँग उद्योग स्थापना गर्न खाली क्षेत्र उपलब्ध गराउन माग गरिएको छ । ‘हामीलाई फोहोर उद्योग स्थापना गर्न आवश्यक पर्ने करिब ४० देखि ५० रोपनी जग्गा आवश्यक पर्छ । उक्त जग्गा खोज्न महानगरले छिमेकी नगरपालिकासँग आग्रह गरेको छ’, विभागीय प्रमुख थापाले भन्नुभयो – ‘जग्गा उपलब्ध भए दुईतीन महिनाभित्रै उद्योग स्थापना गरी उत्पादन शुरु गर्ने तयारी गरेका छौं ।’यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

कामपाका मेयर बालेन्द्र साहका स्वकीय सचिव भूपदेव यादवले बजेटमा व्यवस्था भएअनुसार काम अघि बढाइने बताउनुभयो। ‘उपत्यकाको स्थानीय निकायका मेयरहरूसँग कुराकानी भइरहेको छ, स्थान पाउनासाथ काम शुरू गर्ने सोचमा छांै । कामपाले दक्षिणकाली नगरपालिका, चन्द्रागिरि, टोखा मध्यपुर नगरपालिका प्रमुखसँग कुराकानी भइरहेको जनाएको छ । जग्गा पहिचान हुनेबित्तिकै उद्योग स्थापना गर्ने तयारीमा लागेका छौं’ – यादवले भन्नुभयो ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्