सप्तकोशीमा अविरल वर्षाका कारण नदीको जलस्तरमा अस्वभाविक वृद्धि देखिएपछी हाईअलर्ट जारी



विराटनगर :

सप्तकोशी नदीको जलस्तर अस्वभाविक बढ्ने आँकलनसहित सुनसरी र सप्तरी प्रशासनले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाएको छ।

पूर्वी भेगमा जारी अविरल वर्षाका कारण नदीको जलस्तरमा अस्वभाविक वृद्धि देखिएको भन्दै प्रशासनले तटीय क्षेत्रमा सतर्कता बढाएको जनाएको छ। सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले नदीमा बाढीको उच्च सम्भावना देखिएकाले सबै स्रोत, साधन तयारी अवस्थामा राखिएको बताए।

प्रजिअ यादवले नदीको वराहक्षेत्रको मापनमा पानीको बहाव उच्च देखिएकाले आसपासको क्षेत्र उच्च जोखिममा रहेको भन्दै हाईअलर्टमा सबै संयन्त्र तयारी अवस्थामा राखिएको जानकारी दिए। वराहक्षेत्रको बहाव चतरा मापनमा आइपुग्दा सतर्कता तह पार गर्ने सम्भावना देखिएकालेसमेत तटीय क्षेत्रसहित आसपासमा सावधानी बढाइएको उनले बताए।

प्रजिअ यादवले उक्त बहाव कोशी ब्यारेजको मापनमा आइपुग्दा ५ लाख क्यूसेकको हाराहारीमा पुग्नसक्ने देखिएकाले ब्यारेजमा समेत सतर्कता बढाइएको बताए।

यसैबीच कोशीको बाढीलाई मद्देनजर गर्दै सप्तरीतर्फ समेत प्रशासनले हाईअलर्ट जारी गरेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक अभिनारायण काफ्लेले कोशी आसपासको क्षेत्रमा हाईअलर्ट जारी गरिएको बताए।

कोशी ब्यारेजले ९ लाख क्यूसेक बहाव धान्नसक्ने बताइए पनि नदीको सतहमा बालुवा थुप्रिएकाले ४ लाख क्यूसेक माथिको बहावलाई प्राविधिकहरूले सम्भावित जोखिमका रूपमा लिने गरेका छन्। सुनसरी र सप्तरी प्रशासनले नदीमा बाढीको खतरा बढेकाले तटीय क्षेत्रमा नजान र सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्