आमा गुमाएको करिव दुई दशकपछि गायिका स्मिता घिमिरेको निधन



काठमाडौं ।

करिब तीन वर्षदेखि क्यान्सर रोगबाट पीडित गायिका स्मिता घिमिरेको निधन भएको छ । ललितपुरको हरिसिद्धिस्थित क्यान्सर अस्पतालमा उपचारका क्रममा सोमबार साँझ गायिका घिमिरेको निधन भएको हो । पछिल्लो पटक उनी बोनम्यारोको क्यान्सरबाट पीडित थिईन् ।

सोमबार साँझ नै पशुपति आर्यघाटमा घिमिरेको अन्तिम संस्कार गरिएको छ । गायिका घिमिरेले थुप्रै नेपाली गीतहरु गाउनुका साथै केही महिना अगाडि आफ्नो जीवनकै पहिलो उपन्यास ‘हराएको मुस्कान’ समेत सार्वजनिक गरेकी थिईन् ।

सांगीतिक पृष्ठभूमि भएको विराटनगरको कोइराला परिवारकी नातीनि स्मिता घिमिरेले ४–५ वर्षको उमेरदेखि नै संगीतप्रति रुची देखाएकी थिइन् । एसएलसी दिनुअघि नै विराटनगरमा सम्पन्न एउटा बाल गायन प्रतियोगितामा तेस्रो स्थान जितेपछि उनको औपचारिक सांगीतिक यात्रा प्रारम्भ भएको थियो ।

काठमाडौं आएर संगीतकार दीपक जंगमसंग संगीतको औपचारिक प्रशिक्षण लिएपछि गीत–संगीतमा सक्रिय भएकी यी गायिकाले स्टुडियोमै गएर पहिलो गीत रेकर्ड गराएको करिव एक दशक भयो । भूपू प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाकी छोरी सबिता अर्यालकी छोरी हुन् गायिका स्मिता घिमिरे ।

करिव दुई दशकअघि क्यान्सरबाट निधन भएकी आफ्नी आमाको नाममा खोलिएको सबिता स्मृति ट्रस्टका लागि उनले आफ्नो पहिलो एल्बम ‘स्मि’ को बिक्रीबाट आएको ५० हजार रुपैयाँ प्रदान गरेकी थिइन् । उक्त ट्रस्टले अहिले पनि स्वास्थ्य क्षेत्रमा कार्य गरिरहेको छ । मनोविज्ञान र नेपालीमा स्नातक गरेकी गायिका घिमिरेले यो अवधिमा सुगम संगीतमा आधारित थुप्रै गीत तथा गीति संग्रह सार्वजनिक गरेकी थिईन् ।

सांगीतिक क्षेत्रमा सक्रिय रहेको बेला तथा उपन्यासलाई अन्तिम स्वरुप प्रदान गरिरहेको बेला करिव साढे दुई वर्षअघि गायिका घिमिरेलाई देब्रे स्तनमा क्यान्सर देखिएको थियो । उनका ‘ए भन्छन्’, ‘आँखाको नानी हौ’, ‘भाग्य भन्नु’, ‘कति मीठो माया’, ‘गहिरो तालको’ के भो आज भोलि लगायत गीत रुचाइएका छन् भने ‘स्मि’ नाममा एल्बम समेत सार्वजनिक गरेकी थिइन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्