निर्वाचन आचारसंहिता: राष्ट्रिय झन्डाको प्रयोगसहित अरू के के गर्न पाइँदैन



निर्वाचन आयोगले आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावका लागि बुधवारबाट निर्वाचन आचारसंहिता लागु गर्दै उम्मेदवारहरूले १५ दिन मात्र निर्वाचन प्रचारप्रसार गर्न पाउने व्यवस्था गरेको छ।

आयोगले एक महिनाअघि राजपत्रमा प्रकाशित गरेको आचारसंहिता कार्यान्वयनमा ल्याउँदै उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदानको १७ दिन अघिबाट मात्र प्रचार गर्न समय दिएको हो।

मतदानको दुई दिन अघिबाट मौन अवधि सुरु हुने भएकाले उम्मेदवारहरूले प्रचारप्रसारका लागि १५ दिनको मात्रै समय पाउने छन्।आयोगले कार्यान्वयनमा ल्याएको आचारसंहितामा २५ जनाभन्दा बढीको समूहमा घरदैलो गर्न रोक लगाइएको छ।

आयोगले आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि भन्दै मङ्गलवार जारी गरेको ६० बुँदे निर्देशनमा राजनीतिक दल तथा उम्मेदवारलाई मनोनयन दर्ता गर्न जाँदा र घरदैलोमा जाँदा २५ जनाभन्दा बढीको जुलुस नलैजान भनिएको छ।

“आचारसंहिता लागु भएपछि नियमित वार्षिक बजेटमा परेका कार्यक्रमबाहेक नयाँ कार्यक्रम घोषणा गर्न पाइँदैन, उद्घाटन शिलान्यास र सर्वेक्षण गर्न पाइँदैन,” निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बीबीसीसँग भने।

“त्यस्तै राजनीतिक नियुक्ति, सरुवा तथा बढुवा गर्न पनि रोकिएको छ।”आयोगका अनुसार आयोगको स्वीकृति लिएका बाहेक अधिकारीहरूलाई विदेश भ्रमण गर्न पनि रोक लगाइएको छ।
निर्वाचन प्रयोजनका लागि म्यादी प्रहरी भर्ना प्रक्रिया सुरू भएको छ । निर्वाचन आचारसंहितामा उम्मेदवारहरूलाई बिहान ७ बजेअघि र साँझ ७ बजेपछि प्रचारप्रसार गर्न रोक लगाइएको छ।

आयोगले आगामी निर्वाचनमा उम्मेदवारहरूलाई कुनै पनि र्‍याली वा सभा गर्दा १० वटाभन्दा बढी राष्ट्रिय झन्डा प्रयोग गर्न समेत रोक लगाएको छ।आचारसंहिता लागु भएपछि कुनै पनि दल वा उम्मेदवारको निर्वाचन चिह्न भएका ज्याकेट, भेस्ट, मास्क वा टोपी लगायतका सामग्री कसैले पनि प्रदर्शन गर्न पाइँदैन।

आचारसंहिताले सामाजिक सञ्जालमा झूटा अकाउन्ट वा झूटा वेबसाइट खोल्न रोक लगाउनुका साथै भ्रामक सूचना प्रसार गर्न पनि सर्वसाधारणलाई रोक लगाएको छ।

उम्मेदवारले के गर्न पाउँछन्
निर्वाचन आयोगका अनुसार उम्मेदवारसहित मन्त्री, कर्मचारी, राजनीतिक दल सहित सार्वजनिक पद धारण गरेका व्यक्तिहरूका गतिविधि आचारसंहिताको दायराअन्तर्गत पर्छन्।

शिक्षक, पर्यवेक्षक, पत्रकार र ब्याङ्क तथा वित्तीय संस्था लगायत निजी संस्था तथा गैरसरकारी संस्थाका पदाधिकारी लाई पनि आचारसंहिता लागु हुन्छ।

माओवादीबाट चुनावमा उठ्ने चर्चाबारे कुलमान घिसिङको यस्तो जबाफ

निर्वाचन आचारसंहिता लागु भएपछि सङ्घ तथा प्रदेशका मन्त्री र स्थानीय तहका अधिकारीहरूले आफू उम्मेदवार भएको बाहेकका अवस्थामा कुनै पनि उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार प्रसारमा सहभागी हुन नपाउने आयोगले जनाएको छ। आचारसंहिता लागु भएपछि शिलान्यास र उद्घाटन जस्ता कार्यक्रमहरू पनि गर्न रोक लगाइएको छ। बीबीसी

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्