आगलागी पीडितलाई रु बाह्र लाख सहयोग



काठमाडौँ, ४ जेठ । गुल्मी समाजले गुल्मी जिल्लाको विभिन्न स्थानमा केही दिनअघि भएको आगलागी पीडित परिवारलाई नगद सहयोग उपलब्ध गराएको छ ।

समाजको अगुवाइमा सङ्कलित रु १२ लाख नगद जिल्ला सदरमुकाम तम्घासमा आयोजित समारोहमा जिल्ला दैवीप्रकोप उद्धार समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेललाई हस्तान्तरण गरिएको समाजका महासचिव टङ्क पन्तले जानकारी दिनुभयो ।

जिल्लाको वडागाउँ, अलार्दिलगायत जिल्लाका विभिन्न स्थानमा केही समयअघि भएको आगलागीमा १२२ घर ध्वस्त भएका थिए । समाजका संस्थापक महासचिव एवम पूर्वमुख्य सचिव लीलामणि पौडेलले उक्त रकम प्रजिअ कँडेललाई हस्तान्तरण गर्नुभएको थियो ।

पीडित परिवारका लागि जिल्ला दैवीप्रकोप उद्धार समितिमार्फत हालसम्म रु ७५ लाख बराबरको आर्थिक सहयोग वितरण भइसकेको प्रमुख जिल्ला अधिकारीले जानकारी दिनुभयो ।

गुल्मीमा स्थायी घर भई राजधानीमा विभिन्न पेसा गरेर बसेका व्यक्तिको साझा सङ्गठनका रुपमा समाजले काम गर्दै आएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्